Logo
१२ मंसिर २०८१, बुधबार
(December 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिमेन्ट उद्योग सञ्चालनका लागि ढुङ्गा परीक्षण शुरु

खोटाङ : सिमेन्ट उद्योग सञ्चालनका लागि बोझेओढारमा ढुङ्गा परीक्षण शुरु गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका-४ बडहरे र वडा नं ५ दुर्छिमको सिमानामा पर्ने बोझेओढारमा खानी तथा भूगर्भ विभागको प्राविधिक टोलीले परीक्षण शुरु गरेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तीन वर्षे कार्यक्रमअनुसार विभागबाट खटिएका प्राविधिक टोलीले ढुङ्गा परीक्षण शुरु गरेको नगर प्रमुख इवन राईले बताए । “यो क्षेत्रमा पर्याप्त मात्रामा चुनढुङ्गा रहेको छ”, उनले भने, “प्राविधिक टोलीले उक्त चुनढुङ्गा सिमेन्ट उद्योग सञ्चालनका लागि उपयुक्त हुने नहुने बारेमा परीक्षण गरिरहेको छ।

” ड्रिलिङ मेशिनको प्रयोग गरेर करीब ७५ मिटर तलको ढुङ्गा निकालेर परीक्षण गर्ने काम भइरहेको विभागका उपसचिव नारायण बाँस्कोटाले बताए । “अहिले भूगोल सर्भेक्षण, ढुङ्गा स्याम्पलिङ र छुट्टाछुट्टै चार ठाउँमा ड्रिलिङ गर्ने काम भइरहेको छ”, उनले भने, “प्रारम्भिक रिपोर्ट अनुसार सिमेन्ट उद्योग सञ्चालनका लागि बोझेओढारमा रहेको चुनढुङ्गा उपयुक्त हुने अनुमान गरेका छौं ।

” मध्यपहाडी लोकमार्गमा पर्ने बोझेओढारको तीन वर्गकिलोमिटर क्षेत्रफलको ढुङ्गा परीक्षण भइरहेको प्राविधिक टोलीले बताएका छन् । सडकको राम्रो पहुँच रहेको उक्त ठाउँमा सिमेन्ट उद्योग सञ्चालन गर्नसमेत उपयुक्त हुने बताइएको छ । अधिकांश सार्वजनिक जग्गामा रहेको उक्त चुनढुङ्गा खानी सिमेन्टका लागि १ नम्बर प्रदेशकै सबैभन्दा उपयुक्त रहेको उपसचिव बाँस्कोटाले बताए ।

गत मङ्सिर २८ गतेदेखि विभागबाट खटिएको प्राविधिक टोलीले तीन महीनासम्म सोही ठाउँमा रहेर ढुङ्गा परीक्षण गर्ने जनाइएको छ । विभागबाट उपसचिव दिनेशकुमार नापिटको नेतृत्वमा खटिएका नौ जना प्राविधिकसहित २३ जनाको टोली बोझेओढारमै पाल टाँगेर बसेको छ ।

तीन महीनासम्मको स्थलगत अध्ययन तथा परीक्षणपछि प्राविधिक टोलीले विभागमा प्रतिवेदन बुझाउने जनाइएको छ । प्राविधिकले बुझाएको प्रतिवेदनको आधारमा सिमेन्ट उद्योग सञ्चालनको काम अगाडि बढाइने नगर प्रमुख राईले बताए ।

प्रकाशित मिति: Dec 30, 2018

प्रतिक्रिया दिनुहोस्