प्रस्तावित प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध परेका उजुरीबारे आज संसदीय सुनुवाई
काठमाडौँ : सर्वोच्च अदालतको प्रधान न्यायाधीशका लागि प्रस्तावित भएका चोलेन्द्र शम्शेर जबराविरुद्ध परेका उजुरीबारे संसदीय सुनुवाई विशेष समितिमा आइतबारदेखि सुनुवाई सुरु हुँदैछ । प्रस्तावित प्रधान न्यायाधीशविरुद्ध ९ वटा उजुरी परेका छन् । उनीविरुद्ध न्यायाधीशका लागि पनि योग्य नरहेको आरोपसहितका गम्भीर उजुरी परेका छन् ।
यसबारे आइतबार दिउँसो २ बजेपछि बस्ने संसदीय सुनुवाई विशेष समितिको बैठकमा औपचारिक छलफल हुनेछ । उजुरीका बारेमा समितिका सदस्यले सोध्ने छन् भने प्रस्तावित प्रधान न्यायाधीश जबराले जवाफ दिने छन् । जबरालाई गएको मंसिर २७ गते संवैधानिक परिषदले संसदीय सुनुवाईका लागि सिफारिस गरेको थियो ।
अब सुनुवाई समितिले जबराको नाम अनुमोदन गरेमा उनी प्रधान न्यायाधीश बन्ने छन् । यसअघि संसदीय सुनुवाई विशेष समितिले न्यायाधीश दीपकराज जोशीलाई अस्वीकृत गरेको थियो ।