दश महीना अगाडि फरार अभियुक्त जेल चलान
धरान : दश महीना अगाडि हाडनाता पर्ने एक किशोरी बलात्कार गरी फरार रहेका धरान-५ साउनेका झमकबहादुर बस्नेत अदालतमा हाजिर भएका छन् । पुस १० गते अदालतमा हाजिर भएपछि उनलाई पुर्पक्षका लागि थुनामा राख्न क्षेत्रीय कारागार कार्यालय झुम्का पठाइएको छ ।
दश महीना अगाडि हाडनाता पर्ने किशोरीलाई पटक–पटक बलात्कार गरेको भन्दै पीडितका परिवारले गत असार ८ गते इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका थिए । उजुरीलगत्तै उनी फरार रहेका थिए ।
गत फागुन २५ गते ती किशोरीलाई उनले बलात्कार गरेको उजुरीमा उल्लेख थियो । अदालतको आदेशमा पुर्पक्षका लागि पुस १० गते नै कारागार चलान गरिएको इप्रका धरानका डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए ।