Logo
३ मंसिर २०८१, सोमबार
(December 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदमा महतोको मार्मिक प्रश्न: ‘प्रचण्डजी! तपाई प्रधानमन्त्री हुने, रेशम जेल जानुपर्ने?’ (भिडियो)

काठमाडौं : राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले रेशम चौधरीलाई रिहा गरी संसदमा बस्ने वातावरण बनाउन माग गरेका छन् । बुधवारबाट सुरु भएको प्रतिनिधिसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै संयोजक महतोले जनताबाट निर्वाचित भएर आएका रेशम चौधरी संसदमा बस्नुपर्छ कि पर्दैन भनी प्रश्न गरे ।

‘प्रचण्डजी तपाईले १० वर्षे जनयुद्ध गर्नुभो, १०/२० हजार मान्छे मारिँदा, सुरक्षाकर्मी मारिँदा प्रधानमन्त्री हुनुभयो। धेरै जना मन्त्रीहरु छन्, तपाईहरु कसैलाई मुद्दा नलाग्ने?’ उनले आक्रोश पोखे, ‘थारुले आन्दोलन गर्दा थुन्ने, जनताबाट निर्वाचित सांसदलाई जेलमा राख्ने?’ उनले थपे, ‘मधेसी हुँदैमा पेल्दिने, यसकै लागि हामी लडेको, आन्दोलन गरेको, एक्लै गरेको हो तपाईले? तपाईले आन्दोलन गर्दा प्रधानमन्त्री हुने, थारुको छोरा आन्दोलन गर्दा जेलमा हुने? तपाईमाथि मुद्दा नलाग्ने, हामीमाथि मुद्दा लाग्ने। कसरी शान्ति हुन्छ, यसरी हुन सक्दैनन नी?’

निर्वाचित सांसदलाई सदनमा उपस्थित नगराउनु जनता, संविधान र संसदको अपमान भएको उनको भनाई छ। उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई पटक पटक सम्बोधन गरी यसबारे सोच्न आग्रह गरे । अहिलेको दुई तिहाई सरकार ‘खोदा पहाड, निक्ला चुहा’ जस्तो भएको टिप्पणी गर्दै जनताको आशा, विश्वास र भरोसा निराशामा परिणत हुँदै गएको दाबी गरे । ‘प्रधानमन्त्री, मन्त्रीहरु आफै थप्थपाएर हुँदैन, जनताले राम्रो भन्नुपर्यो नी । आफै भनेर हुन्छ?’ उनले प्रश्न गरे ।

नेपालगञ्जका रामहरि यादवलाई जेलमा कुटीकुटी मारिएको आरोप लगाउँदै यस घटनाका लागि सभामुखले छानविन समिति गठन गर्न रुलिङ गरे पनि सरकारले नगरेको भन्दै आक्रोश पोखे । ‘यसरी चल्छ मुलुक, यसरी लोकतन्त्र रहन्छ? निर्मला हत्या प्रकरणमा खै त बलात्कारी कहाँ हरायो?’ उनले भने ।

महतोले उल्टोपुल्टो काम नगर्न सरकारको ध्यानाकर्षण

महतोले उल्टोपुल्टो काम नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बुधवारबाट सुरु भएको प्रतिनिधिसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै संयोजक महतोले सरकारप्रतिको जनताको आशा, विश्वास र भरोसा निराशामा परिणत हुँदै गएको दाबी गरे ।  उनले टोल टालमा सरकार पुग्नुपर्नेमा पोल पोलमा पुगेको टिप्पणी गरे । ‘यो त हुँदैन हो । पटक पटक भनेको हो, संविधान संशोधन गरौं। लटर पटरवाला संविधान अपुरो भएको भनेको, खै त? संशोधन गर्नुपर्दैन?’ उनले प्रश्न गरे ।

जनादेशको सम्मान नगरेकै कारण ६ वटा संविधान खत्तम भएको भन्दै ७ औं खतम नगरौं भने । ‘जनताको माग सम्बोधन गरौं । अन्यथा विश्वको कुनै शक्तिले रोक्न सक्दैन’, उनले चेतावनी दिए ।  प्रधानमन्त्तीले सरकार बनाउँदा १० महिनाअघि संशोधन गर्छाै भनेको स्मरण गर्दै आफूहरुको सहनशीलतालाई कमजोरी नठान्न चेतावनी दिए । ‘हामी दुई तिहाई सरकारले जनताको हितमा काम गरोस भन्ने चाहन्छौं । हामीले उठाएका सवालहरु सकारात्मक रुपमा सम्बोधन होस’, उनले माग गरे ।

मधेसमा शितलहर सुरु भएको भन्दै उनले जोगाउने काम गर्न सरकारलाई आग्रह गरे । उनले मदन भण्डारी राजमार्ग बनाउने नाममा चुरेलाई मरभूमी नबनाउन आग्रह गरे । ‘सडक बनाउने नाममा चुरेलाई नाश हुने काम गर्नुभएन’, उनले भने । सरकार होली वाइनले शुद्ध बनाउने धन्दामा लागेको भन्दै उनले आपत्ति समेत जनाए ।

भिडियो :

प्रकाशित मिति: Dec 26, 2018

प्रतिक्रिया दिनुहोस्