राजपामा असफल बन्दै राजेन्द्र महतो, बैठक राख्ने चौथो प्रयास पनि विफल
काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपालमा नेतृत्वको विवाद अझैपनि साम्य भएको छैन । राजपा अध्यक्ष मण्डलका नेताहरुले राजेन्द्र महतोलाई जति ताँमझाँमका साथ संयोजक बनाए त्यती नै उनको बेइज्जत पनि भइरहेको छ ।
अध्यक्ष मण्डलका नेताहरु महेन्द्रराय यादव, राजकिसोर यादव र शरत्तसिंह भण्डारीले महतोलाई “मोहरा” बनाएर उनको “शाख”लाई मेटाउने कार्य गरिरहेको राजपाका नेताहरुले बताउछन् ।
“संयोजक बनेर उनले खासै कुनै काम गर्न पाएका छैनन, पटक-पटक बैठक बसाउने प्रयास गरेपनि उक्त बैठकहरु बस्न सकिरहेको छैन ।” एक नेताले भने अध्यक्षमण्डलका अन्य नेताहरुले महतोको बेइज्जत गराउन लागि परेका छन् ।
“अध्यक्ष मण्डल नेतृत्वको विवाद जारी नै थियो, तर अब जितेन्द्र सोनल विरुद्ध हस्ताक्षर अभियान थालेका छन्” महन्थ ठाकुर खेमाका एक नेताले भने “महतोलाई सबैभन्दा बढी सम्मान ठाकुरले नै हो गर्ने तर महतोले केहि नेताहरुको षडयन्त्रमा परेर उनै ठाकुरविरुद्ध कदम चालिरहेका छन् ।”
उनले भने – “अझैपनि समय छ, महतोले ठाकुरसँग मिलेर राजपालाई मजबुत गर्नुपर्छ तर महतोजी कुनैबेला पनि धोखा दिन सक्ने नेताहरुको चक्रब्युमा फसेका छन् ।”
यता, आफू संयोजक भएपछि अध्यक्ष मण्डलको बैठक राख्ने राजपा संयोजक महतोको चौथो प्रयास बुधवार फेरि पनि विफल भएको छ ।
गत मंसिर ४ गते बहुमतको आधारमा अध्यक्ष मण्डले निर्णय गर्दै ठाकुरलाई हटाएर महतोलाई संयोजक तोकेपछि राजपाभित्र अन्तरद्वन्द्व बढ्दा बैठकसम्म बस्न नसेको हो ।
महतोलाई संयोजक बनाउने निर्णय मइरहँदा त्यसको विपक्षमा अनिल झा थिए । महतो संयोजक भएपछि बोलाइएका मंगलबारसहित चारवटै बैठक ठाकुर र झाले बहिस्कार गर्दै आएका छन् ।
यसअघि आफू संयोजक भएपछि महतोले मंसिर ६, ७ र १४ गते बैठक बोलाए पनि ठाकुर र झा दुवै अनुपस्थित हुँदै आएका छन् ।
बुधवारको बैठकमा समभागी हुन संयोजक महतो, अध्यक्ष मण्डलका अरु सदस्यहरु महेन्द्रराय यादव, शरतसिंह भण्डारी र राजकिशोर यादव दिउँसो २ बजे नै पार्टी कार्याल पुगे पनि ठाकुर र झालाई कुरेर फर्केका थिए ।
बुधवार बिहान मात्र संविधान संशोधनबारे ध्यानाकर्षण गराउन मंगलबार बिहान ६ जना नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।
संयोजक फेर्दा राजपा आफैं विवादमा फसेपछि सरकारलाई दिएको समथर्न के गर्ने भन्ने विषयमा छलफल नै गर्न सकेको छैन ।
प्रधानमन्त्रीलाई भेट्न सबैभन्दा पहिला नै बालुवाटार पुगेका झाले बुधवारको अध्यक्षमण्डलको बैठकबारे आफूलाई केहि जानकारी नभएको बताए ।
दसैंअघि छठसम्म संविधान संशोधन प्रस्ताव तयार नभए समर्थन फिर्ता लिने चेतावनी दिएको राजपा आफ्नैभित्रको विवादका कारण अनिर्णित भएको छ ।