समर्थन फिर्ता लिने तयारीबीच राजपा अध्यक्ष मण्डललाई प्रधानमन्त्रीले बोलाए बालुवाटार
काठमाडौं : वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने निष्कर्षमा पुगेका राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्ष मण्डललाई आज प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बोलाएका छन्।
आज बिहान १० बजे प्रधानमन्त्री निवासमा हुने भेटघाटमा सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नगर्न प्रधानमन्त्री ओलीले राजपाका अध्यक्ष मण्डललाई आग्रहबारे छलफल गरिने बालुवाटार स्रोतले जनाएको छ।
संविधान संशोधन सहित विभिन्न मांग राखि नेकपा नेतृत्वको सरकारलाई राजपा नेपालले मुद्दाको आधारमा बाहिरबाट समर्थन गरि रहेको छ । तर, सरकार गठन भएको एक वर्ष हुनै लाग्दा पनि अहिले सम्म कुनै मांग प्रति सरकारले चासो लिएको छैन ।
दुई तिहाई बहुमतले बनेको सरकारले आफूहरूको मांग बेवास्ता गर्ने नीति अख्तियार गरेको कुरा बुझेपछि सरकारलाई दिंदै आएको समर्थन फिर्ता लिने निष्कर्षमा पुगेको राजपाका शीर्ष नेताहरू बताउँछ्न ।
आजको भेटघाटबारे पुष्टि गर्दै राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले प्रधानमन्त्रीले छलफल गर्न बोलाएको बताए ।
उहाँले फोनमै पनि समर्थन फिर्ता नलोन आग्रह गर्नुभएको भन्दै राजपा अध्यक्ष मण्डलका सबैजना त्यसबारे छलफल गर्न आज बालुवाटार जान लागेको उनलेे बताए ।
प्रधानमन्त्रीसँगको भेटघाट लगत्तै आज १ बजे पार्टी मुख्यालयमा अध्यक्ष मण्डलको बैठक समेत बस्ने महतोले जानकारी दिएका छन्।