जेठ २ गतेबाट रोकिएको मलेसिया रोजगारी सन् २०१९ को जनवरीबाट खोलिने
काठमाडौं : नेपाली कामदारका लागि केहि समय अघिदेखि रोकिएको मलेसियाको रोजगारी खुलाउने प्रयास अन्तिम अवस्थामा पुगेको सरकारले जनाएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सन् २०१९ को जनवरीबाटै मलेसियाको रोजगारी खोल्नेगरी गृहकार्य भइरहेको जानकारी दिएको हो ।
सोमबार संघीय संसदको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता समितिमा श्रम रोजगार तथा सामाजिक सुरक्षा सचिव महेश्वर दाहालले गत जेठ २ गतेबाट रोकिएको मलेसिया रोजगारी खुलाउन दुई देशबीच छलफल र सम्बाद भइरहकाले आगामी जनवरीबाट यो समस्या समाधान हुनेगरी सरकारले काम गरिरहेको जवाफ दिएका हुन् ।
यसअघि विभिन्न कम्पनीले मलेसियाका लागि कामदार लिने गरेका थिए । श्रम मन्त्रालयले २ जेठमा मलेसिया जाने कामदारमाथि आर्थिक ठगी गर्दै आएका विभिन्न ५ वटा संस्था बन्द गर्ने निर्णयसँगै त्यहाँ जाने कामदारको प्रक्रिया रोकिन पुगेको थियो ।