Logo
१० मंसिर २०८१, सोमबार
(December 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल उद्योग बाणिज्य महासंघको टोली अध्यक्ष राणाको नेतृत्वमा लखनऊ प्रस्थान

नेपालगञ्‍ज : भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथलाई भेट्न नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाको नेतृत्वमा सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यसहितको आठ सदस्यीय टोली लखनऊ गएको छ ।

महासंघका केन्द्रीय सदस्य श्रेष्ठले बोर्डरमा देखिएका समस्याका बारेमा कुरा गर्न टोली लखनऊ हिडेको बताए । उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथलाई भेटेर नेपालगञ्ज लगायत यस प्रदेशसँग जोडिएका नाकामा देखिएका समस्याका बारेमा छलफल गर्ने श्रेष्ठले जानकारी दिए ।

नेपालगञ्ज नाकाबाट ठूलो मात्रामा जडीबुटी भारततर्फ निकासी हुन्छ । उत्तर प्रदेश सरकारले ट्रान्जिट पासको व्यवस्था गरेपछि जडीबुटी व्यवसायीहरुले समस्या भएको बताउदै आएका छन् ।

महासंघको टोलीले उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथसँग यस विषयमा पनि कुरा गर्ने श्रेष्ठले जानकारी दिए । नेपालगञ्जमा बन्‍ने भनिएको सुख्खा बन्दरगाह अलपत्रजस्तै भएको छ । भारतले चासो नदेखाएकाले यसको काम द्रुतगतिमा अगाडि बढ्न सकेको छैन । महासंघको टोलीले यस विषयलाई पनि उठाउने जनाएको छ ।

उत्तरप्रदेशसँग जोडिएको सबैभन्दा ठूलो नाका नेपालगञ्ज भएकाले भन्सारमा देखिएका समस्याका बारेमा मुख्यमन्त्री आदित्यनाथसँग छलफल गर्ने महासंघकी अध्यक्ष राणाले बताएकी छन् । नेपालगञ्ज निवासी भएकाले महासंघकी अध्यक्ष राणा नेपालगञ्जलाई मानसरोबर कैलाश यात्राको प्रवेशद्वार गराउन लागि परेकी छन् ।

५, ६ र ७ नम्बर प्रदेशको प्रमुख व्यापारिक, शैक्षिक, स्वास्थ्य र आर्थिक केन्द्र भएर पनि नेपालगञ्जमा प्रदेश राजधानीमा पछाडी परेपछि आर्थिक राजधानी बनाउन लबिङ्ग भएको छ। यो अभियानमा महासंघकी अध्यक्ष राणाले साथ दिदै आएकी छन् ।

प्रकाशित मिति: Dec 24, 2018

प्रतिक्रिया दिनुहोस्