आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता भरतपुरको गेष्टहाउस चौरमा
चितवन : आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि जिल्लामा हुने प्रदेशस्तरीय छनोटका खेल भरतपुरको गेष्टहाउस चौर, भरतपुर कबर्ड हल तथा जुनियर प्रहरी अधिकृत शिक्षालयमा हुने भएको छ ।
प्रदेशस्तरीय खेलकूदमा सहभागी हुन जिल्लाबाट १९९ जना खेलाडी छनोट गरिएको छ । छनोट भएका खेलाडीमध्ये ११९ जना पुरुष तथा ८० महिला खेलाडी रहेका छन् । फुटबल, एथलेटिक्स, मार्सलआर्टसहित १५ वटा विधामा खेलाडी छनोट गरिएको हो ।
आगामी माघ महीनामा प्रदेश नं-५ मा हुने राष्ट्रिय खेलकूदमा सहभागी हुनका लागि जिल्लाबाट छनोट भएका खेलाडी प्रदेशमा सहभागी हुने र विजेता खेलाडीले राष्ट्रिय खेलकूदमा भाग लिन पाउने चितवन जिल्ला खेलकूद विकास समितिले जनाएको छ ।
जिल्लाबाट फुटबलमा १६ जना महिला तथा १६ जना पुरुष, एथलेटिक्समा ८ जना महिला तथा १२ जना पुरुष, बक्सिङमा ६ जना महिला तथा १० जना पुरुष, टेबल टेनिसमा दुई जना महिला तथा चारजना पुरुष, क्रिकेटमा १४ जना पुरुष छनोट भएका छन् ।
त्यस्तै भलिबलमा १० जना महिला तथा १० जना पुरुष, कबड्डीमा १० जना महिला, उसुमा सातजना महिला तथा सात जना पुरुष, कराँतेमा चार जना महिला तथा ८ जना पुरुष, बास्केट बलमा १० जना पुरुष, बुद्धिचालमा दुईजना पुरुष छनोट भएका चितवन जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख रामजी ढकालले जानकारी दिए ।