Logo
९ मंसिर २०८१, आईतबार
(December 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राससलाई निकट भविष्यमा सातै प्रदेशबाट समाचार बुलेटिन प्रकाशन गरिने : महाप्रबन्धक शर्मा

सुर्खेत : राष्ट्रिय समाचार समिति (रासस)का महाप्रबन्धक ओपेन्द्र शर्माले राससलाई समयानुकूल पुनःसंरचना गर्दै निकट भविष्यमा सातै प्रदेशबाट समाचार बुलेटिन प्रकाशन गरिने जानकारी दिएका छन् ।

कर्णाली प्रदेश सरकारको सहयोग र नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशको समन्वयमा राष्ट्रिय समाचार समिति द्वारा आज आयोजित ‘प्रदेशस्तरीय पत्रकारिता प्रशिक्षण’को उद्घाटन गर्दै आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले पत्रकारले रचनात्मकरूपले कलम चलाउनुपर्ने तथा आफ्ना समाचारमाथि अनुसन्धान तथा आत्ममूल्याङ्कन गर्नुपर्नेमा जोड दिनुपर्ने बताए ।

सञ्चारसम्बन्धी हेर्ने मन्त्रालयका मन्त्री भण्डारीले कर्णाली प्रदेश सरकारले कर्णालीमा आमसञ्चार प्रतिष्ठान गठन गर्ने, पत्रकारका लागि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने तथा प्रदेश सरकारले कर्णाली रेडियो, टेलिभजन सञ्चालन गर्ने जानकारी दिँदै सरकारले रासस र नेपाल पत्रकार महासङ्घसँग मिलेर काम गर्ने स्पष्ट पारे ।

उद्घाटन समारोहमा राससका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले राससलाई उत्तरदायी, विश्वसनीय र भरपर्दो बनाइने बताए । उनले लोकतन्त्रलाई सुदृढ गर्न राससलाई समायानुकूल विकास गरिने समेत बताए ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा तीन दिनसम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा सहभागी पत्रकारलाई समाचार सङ्कलन र स्थानीय समाचारदाता, नियमित र खोजी रिर्पोटिङ विषयमा प्रशिक्षण सञ्चालन गरिने रासस कर्णाली प्रदेशका संयोजक शुरबहादुर सिंहले जानकारी दिए ।

त्यस्तै प्रशिक्षणमा समाचार सम्पादन र भाषा, स्थानीयवासीको आँखामा पत्रकारिता, आलेख लेखन र स्रोत तथा संसदीय रिर्पोटिङ, फोटो पत्रकारिता र प्रदेश सञ्चार नीति तथा सूचनाको हकसम्बन्धी प्रशिक्षण दिइने संयोजक सिंहले जानकारी दिए । मुलुक सङ्घीय संरचनामा गइसकेपछि प्रदेशस्तरीय पत्रकारिता प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने कर्णाली प्रदेश पहिलो हो ।

प्रकाशित मिति: Dec 23, 2018

प्रतिक्रिया दिनुहोस्