राष्ट्रपति, प्रधानमन्त्रीको शुभकामना : शनिबार योमरी पूर्णिमा, धान्य पूर्णिमा र उधौली मनाइँदै
काठमाडौँ : मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने योमरी पुन्हिः अर्थात् योमरी पूर्णिमा पर्व र उधौली पर्व शनिबार मनाइँदैछ । उपत्यकाको नेवार समुदायले ४०० वर्षअघि उत्तरायण माघ १ गतेदेखि योमरी पूर्णिमाका दिनमा सारेको विश्वास गरिन्छ । जाडोको समयमा चामलको पिठोबाट बनेको परिकार विशेषलाई चाकुसँगै खाने पर्वका रुपमा यो पूर्णिमा मनाउने गरिएको हो ।
यस दिनलाई ज्यापु दिवसका रुपमा समेत मनाउने गरिन्छ । पहाडी क्षेत्र र अन्यस्थलमा बसोबास गर्ने पहाडी समुदायले कूलपूजा र गोठपूजा गरी गैडुपूजा गर्ने विधान रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।
यस पूर्णिमालाई धान्यपूर्णिमा पनि भनिन्छ । आजका दिन किरात समुदायले उधौली पर्व पनि मनाउँदै छन् । यस दिन खेतीपाती राम्रो भयो, काम सकियो, अब अन्नको सह बसोस् खाद्यान्नको अभाव नहोस् भनी भूमेस्थान र साकेलास्थानमा पूजा गरी उधौली पर्व मनाउने परम्परा रहेको छ ।
वैशाख शुक्ल पूर्णिमाका दिन गर्मी छल्न उँभो गई उभौली पर्व मनाएको किरात समुदायले आजैदेखि जाडो छल्न उँधो झर्ने भएकाले यो पर्वलाई उधौली भन्ने गरिएको सामाजिक मान्यता छ । पूजापछि साकेला नाचिन्छ । नाचमा प्रकृतिमा भएका पशुपक्षी मानव समुदायलाई आवश्यक पर्छ भनी नक्कल गरिन्छ ।
प्रगतिपथमा अग्रसर हुन प्रेरणा होस् : राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्सिर शुक्ल पूर्णिमाको दिन पितृ र प्रकृतिपूजक किराँत समुदायको महान् पर्व उधौलीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत समुदायका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, सुख शान्ति र समृद्धि, आपसी सद्भाव, एकता, भाइचारा एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेकी छन् ।
उधौली पर्वका अवसरमा दिएको शुभकामना सन्देशमा उनले नेपालका विभिन्न जातजाति र समुदायले मनाउने चाडपर्वले नेपाल साझा फूलबारीका रुपमा सिँंगारिएको तथा नेपालीले मनाउने उधौलीजस्ता चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेका बताएकी छन् ।
उधौली पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव तथा भ्रातृत्व अभिवृद्धि गरी देशलाई प्रगतिपथमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना राष्ट्रपतिले गरेकी छन् ।
मौलिक संस्कृतिलाई पर्यटकीय आकर्षणका रुपमा विकास गर्नुपर्छ : प्रम ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको मौलिक संस्कृतिलाई पर्यटक आकर्षण गर्ने पर्वका रुपमा विकास गर्नुपर्ने बताएका छन् । किराँत धर्मावलम्बीको चाड उधौली तथा चासोक तङनामका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन् ।
नेपाली संस्कृतिलाई जीवन्त बनाउने विभिन्न समुदायका चाडपर्व पर्यटकीय आकर्षणका केन्द्र हुनसक्ने प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् । “विभिन्न जातीय समुदायका चाडपर्वमा प्रयोग हुेन बाजागाजा, नृत्य तथा अन्य गतिविधि स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्ने सशक्त माध्यम बन्न सक्छन्”, प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।
नेपाल बहुजातीय, बहुधार्मिक र बहुभाषिक देश भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले विभिन्न जातीय समुदायले मनाउने चाडपर्वले आपसी सद्भाव र सहिष्णुताको भावना विकास गरेको उल्लेख गरेका छन् । “हाम्रो जातीय, भाषिक र धार्मिक विविधतानै नेपालीलाई एक सूत्रमा बाँध्ने माध्यम भएका छन्”, प्रधानमन्त्रीले शुभकामनामा उल्लेख गरेका छन् ।
मङ्सिरे पूर्णिमाको दिन खास गरी किराँत राई र सुनुवार जातिले मनाउने उधौली पर्व र लिम्बू जातिले मनाउने चासोक तङनामलाई सरकारले किराँत चाडको रुपमा मान्यता दिएको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।
पाकेको अन्नको न्वागी खाने दिनका रुपमा किराँतीले मनाउने यस पर्वका अवसरमा प्रधानमन्त्री ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत जातिमा सुस्वास्थ्य र दीर्घायूको शुभकामना व्यक्त गरेका छन् ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले ज्यापु संस्कृति नेपालको मौलिक संस्कृतिभएको उल्लेख गरेका छन् । योमरी पुन्हि (ज्यापु दिवस)का अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको हो ।
योमरी पुन्हिलाई राज्यले पनि उच्च महत्व दिँदै चौध वर्षअघि ज्यापु दिवसको घोषणा गरेको हो । नेपाल बहुजातीय, बहुधार्मिक, बहुभाषिक देश भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले विविध जातिका विविध संस्कृतिले नेपालीलाई एकताको सूत्रमा बाँधेको सन्देशमा उल्लेख गरिएको छ ।