विश्वभर साम्यवाद खोज्ने नेकपाको आफ्नै विधानबाट भने ‘साम्यवाद’ गायव !
काठमाडौं : संसारभरका सबै कम्युनिस्ट पार्टीहरुको अन्तिम लक्ष्य साम्यवाद नै मानिएको हुन्छ । सारा विश्व नैं धनि-गरिव नभएर समान भएपछि साम्यवाद हुने कम्युिनष्टहरुको तर्क हो ।
तर नेपालको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विधानबाट साम्यवाद शब्द नैं गायव भएको छ । स्थायी कमिटी बैठकमै बेदुराम भुसाल लगायतका केही सदस्यले साम्यवाद शब्द खोजी गरेपछि नेताहरु विधान पल्टाउन थालेका छन् ।
एमाले र माओवादी मिलेर बनेको शक्तिसाली कम्युनिस्ट पार्टीको विधानको प्रस्तावनाबाटै ‘रणनीतिक लक्ष्य साम्यवाद हो’ भन्ने वाक्य गायव पारिएपछि स्थायी कमिटीमै यो विषयले प्रवेश पाएको छ ।
नेकपाको अन्तरिम विधान २०७५ को मस्यौदाकार समेत रहेका भुसालले सचिवालयबाट विधान टुंगो लगाउँदा साम्यवाद हटाइएको आरोप लगाएका छन् ।
उनले सोमबारको बैठकमा बोल्ने क्रममा स्थायी कमिटीले असार पहिलो साता अन्तिम रुप दिएर छाप्नका लागि सचिवालयलाई जिम्मा लगाएको विधान पटकपटक आफू अनुकुल नेताहरुले तोडमोड गर्दा साम्यवाद शब्द गोलमाल भएको बताए ।
उनले कुन विधान आधिकारिक हो भन्नेसमेत टुंगो नलागेको भन्दै विधानका त्रुटी सच्याउनुपर्ने मागसमेत गरेका थिए । तत्कालीन एमाले र माओवादीले पनि बहुदलीय जनवाद वा एक्काइसौं शताब्दीको जनवाद हुँदै तत्कालीन लक्ष्य समाजवाद र रणनीतिक लक्ष्य साम्यवाद भन्ने गरेका थिए ।