कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि साँझसम्मका लागि स्थगित
काठमाडौँ : कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै नबसी साँझसम्मका लागि स्थगित भएको छ । विधान संशोधनको प्रस्तावलाई अन्तिम रुप दिनका लागि कांग्रेसको महासमिति बैठक स्थगित गरी आह्वान गरिएको केन्द्रीय कार्यसमितिको बैठक साँझ ६ बजेसम्मका लागि स्थगित गरिएको हो।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार केन्द्रीय समितिमा विधान संशोधनको विषय टुंगो लगाउने र पार्टीको महासमिति बैठक पनि एकैसाथ सञ्चालन गरिने छ । पदाधिकारीको संख्या तथा केन्द्रीय समिति १ सय ४१ बनाउनेबाट १ सय ५१ बनाउने विषयमा पनि सहमति जुटाउने प्रयास भइरहेको छ।
उपसभापति बिमलेन्द्र निधिको संयोजकत्वको कार्यदलले विधानका विषयमा मोटामोटी सहमति जुटाएपछि त्यसलाई अन्तिम रुप दिन केन्द्रीय कार्यसमितिको बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा आह्वान गरिएको थियो। पार्टी सभापति शेरबहादुर देउवासहित अन्य पदाधिकारी उपस्थित नहुने भएपछि महासमितिको बैठक दुई घण्टाका लागि स्थगित भएको थियो ।
संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडल दुवै पक्ष पदाधिकारी संख्या पाँचबाट बढाएर आठ पुर्याउन सहमत भएपनि निर्वाचित वा मनोनित के गर्ने भन्ने विषयमा सहमति नभएको महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए । एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, दुई सहमहामन्त्री र एक कोषाध्यक्ष राख्ने सहमति भएको छ ।
त्यस्तै, विधानमा संक्रमणकालीन अधिकारी र संशोधित विधान कहिलेदेखि लागू हुने भन्ने विषयमा पनि सहमति जुट्न बाँकी रहेकाले त्यसलाई टुंग्याएर सोमबार नै विधान संशोधननको प्रतिवेदन पेश गर्ने तयारी भइरहेको खड्काले बताए ।