Logo
३ मंसिर २०८१, सोमबार
(December 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली कांग्रेस महासमिति बैठकको तयारी पुरा, शनिबार उद्घाटन गरिने

काठमाडौं : नेपाली कांग्रेसले महासमिति बैठक शनिबार बिहान ११ बजे उद्घाटन गर्ने भएको छ ।

शुक्रबार दिउँसो २ बजेदेखि ५ बजेसम्म सहभागीको नाम दर्ता केन्द्रीय कार्यालयमा गर्ने र बैठकको उद्घाटन शनिबार हुने भएको हो ।कांग्रेसले महासमिति बैठक यगम्बर पार्टी प्यालेस रामशाहपथ काठमाडौंमा गर्दैछ ।

मंसिर २९ देखि पुस ३ गतेसम्म बैठक चल्ने कांग्रेसले जनाएको छ । पुस १, २ र ३ गते बन्दसत्र हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको कार्यतालिकामा उल्लेख छ ।

बन्दसत्र बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म चल्छ । शुक्रबार नै बैठक उद्घाटन गर्ने तय भए पनि पार्टी प्यालेसमा अर्कैले कार्यक्रम गरेपछि एक दिन पछि मात्रै बैठकको उद्घाटन गर्न लागिएको हो । भृकुटीमण्डप, पार्टी कार्यालय हुँदै अन्तिममा बैठक यगम्बर पार्टी प्यालेसमा गर्ने तय भएको थियो ।

बैठकमा २४० निर्वाचन क्षेत्रबाट एक महिलासहित पाँच जनाका दरले एक हजार दुई सय महासमिति सदस्य सहभागी हुनेछन्। भातृ संस्थाका प्रमुखहरू, सभापतिले चयन गरेका १० जना प्रतिनिधि, विदेशस्थित जनसम्पर्क समितिका प्रमुखहरू, पुराना केन्द्रीय सदस्यहरू बैठकमा सहभागी हुँदैछन् । बैठकको व्यवस्थापन काठमाडौं, भक्तपुर र ललितपुर पार्टीले लिएको छ ।

महासमितिका लागि यगम्बर पार्टी प्यालेसमा सचिवालय नै सञ्चालन गरिएको छ । कांग्रेसले बैठकका सहभागीलाई बिहान चिया, खाजा र खानाको व्यवस्था गरेको छ भने बास र बेलुकीको खाना महासमिति सदस्यहरू आफैंले व्यहोर्नुपर्नेछ ।

प्रकाशित मिति: Dec 14, 2018

प्रतिक्रिया दिनुहोस्