‘पप्पु कन्ट्रक्सनको विवाद’ बारे फोरम नेपालको केन्द्रीय समिति बैठकमा एजेण्डा
काठमाडौं : संघीय समाजवादी फोरम नेपालले पप्पु कन्ट्रक्सनको विषयमा केन्द्रीय समितिमा छलफल गर्ने भएको छ । अनियमितताको आरोपमा फोरम नेपालका सांसद हरिनारायण रौनियार निलम्बनमा परेका छन् । पप्पु कन्ट्रक्सनले बर्दिया जिल्लामा बनाएको पुलमा अनियमितता भएको भन्दै कन्ट्रक्सनका मालिकको रुपमा रौनियारमाथि अख्तियार दुरुपयोग आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका हुन् ।
यो विषयलाई लिएर फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पटक पटक छलफल गरेका छन् । रौनियार हाल पप्पु कन्ट्रक्सनकाम मालिक होइनन्, तैपनि रौनियारमाथि मुद्दा दायर गरेको दावी फोरम नेपालको रहेको छ । फोरम नेपालको तर्फबाट सरकारमाथि दवाव परेपनि हालसम्म त्यसबारे कुनै सुनुवाई नभएपछि केन्द्रीय समितिमै छलफल हुन लागेको हो ।
छलफलबाट एउटा निश्कर्ष निकालेर अघि बढ्ने फोरमको तयारी छ । फोरम नेपालका महासचिव रनध्वज कन्दवाले पार्टीको चुनाव चिन्हबाट रौनियारले चुनाव जितेका हुँनाले फोरमले त्यसमा चासो राख्नु स्वभाविक हुने बताए । उनले यस विषयम पार्टीको राज्य व्यवस्था विभागले अध्ययन गरेको र विभागले आफ्नो प्रतिवेदन केन्द्रीय समितिमा पेस गरेपछि छलफल हुने बताए ।
फोमले मंसिर २२ गतेका लागि काठमाडौंमा केन्द्रीय समितिको बैठक बोलाएको छ । पप्पुको विषयबाहेक बैठकमा संगठन निर्माण, पार्टीको महाधिवेशन, जिम्मेवारी हेरफेर, आयोग तथा राजदूतमा नियुक्ति लगायतको विषयमा छलफल हुने बताइएको छ ।