नेपाली कांग्रेसमा ७० वर्ष पुगेकाले कार्यकारी पदमा बस्न नपाउने व्यवस्थाको प्रस्ताव
काठमाडौँ : नेपाली कांग्रेसमा ७० वर्ष उमेर पुगेकाले पार्टीको कार्यकारी पदमा बस्न नपाउने प्रावधान विधान राख्न केन्द्रीय सदस्य गगन थापाले प्रस्ताव गरेका छन् । केन्द्रीय कार्यसमिति बैठकमा विधान मस्यौदामाथि छलफलमा भाग लिँदै थापाले ७० वर्ष पुगेकाले कार्यकारी पदमा बस्न नपाउने प्रावधान राख्नुपर्ने बताएका हुन् ।
यदि थापाको प्रस्ताव पारित भएमा ७४ वर्षे सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताले राजनीतिबाट अवकाश लिनुपर्ने हुन्छ । महामन्त्री पूर्णबहादुर खडकाको संयोजकत्वमा गठित विधान मस्यौदा समितिले पेश गरेको प्रतिवेदनमाथि मंसिर ९ गतेदेखि केन्द्रीय समितिमा छलफल भइरहेको छ । मंगलबारसम्म ४५ जनाले धारणा राखेको कांग्रेसले जनाएको छ ।
मस्यौदामाथि धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यले पदाधिकारी र केन्द्रीय सदस्य बढाउन सुझाव दिएका छन् । मंगलबार बोलेका गगन थापा, धनराज गुरुङ, गुरुराज घिमिरे, चीनकाजी श्रेष्ठलगायतले पदाधिकारीको संख्या बढाउनु पर्ने धारणा राखेका छन् । गुरुङले पदाधिकारीको संख्या बढाउनका साथै सबै महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था गर्र्नुपर्ने प्रस्ताव राखेको जानकारी दिए ।
थापा र गुरुङले आर्थिक पारदर्शितालाई पार्टीले संस्थागत ढंगले नै अघि बढाउनु पर्ने र त्यसका लागि विधानमै जुनसुकै तहका पदाधिकारीले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान राख्न माग गरेका छन् । त्यस्तै एउटै पदमा धेरै सदस्य निर्वाचित हुने पदहरुका एक संक्रमणीय निर्वाचन प्रणाली अपनाउनु पर्ने मत पनि केन्द्रीय सदस्यहरुले उठाएका छन् ।
गुरुङले प्रस्तावित विधान मस्यौदाको प्रस्तावनामा कांग्रेसको स्थापनाबारे भ्रमपूर्ण तथ्य राखिएकाले त्यसलाई हटाउन ध्यानाकर्षण गराएको बताए । २००६ सालमा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीच एकता हुँदा चौँथो महाधिवेशन भइसकेकोले नेपाली राष्ट्रिय कांग्रेसको स्थापना २००३ साललाई नै स्थापना दिवसका रुपमा मनाउनु पर्ने उनको धारणा थियो ।
विधान मस्यौदा समितिका सदस्यसमेत रहेका आनन्दप्रसाद ढुंगानाले संविधान र संघीयता कार्यान्वयनलाई बल पुग्ने गरी विधान संशोधन हुनुपर्ने बताए । मंगलबार एनपी साउद, गोविन्द भट्टराई, लक्ष्मी परियार, नरेन्द्रकुमार चौधरी र रमा कोइराला पौडेलले पनि धारणा राखेका थिए ।