Logo
३ मंसिर २०८१, सोमबार
(November 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल नागरिक ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक स्विकार्य नहुने

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरूले नै सरकारले ल्याएको ‘नेपाल नागरिक ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ स्विकार्य नहुने चेतावनी दिएका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद बिन्दा पाण्डेले सो विधेयकको सैद्धान्तिक प्रस्तावना माथि नै प्रश्न उठाउँदै स्विकार्य नहुने चेतावनी दिएकी हुन् ।

शुक्रबार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै उनले आमाको नामबाट नागरिकता लिन पाउने कानुन व्यवस्था स्पष्टसँग उल्लेख नभएको भन्दै सो विधेयक स्वीकार गर्न नसकिने प्रष्टयाइन् ।

विधेयकमा नागरिकता लिनेसम्बन्धी सबै व्यवस्थामा पुरुषलाई मात्रै प्राथमिकता दिइएको सांसद पाण्डेको आरोप छ। उनले २०६२/०६३ को जनआन्दोलनले आमाको नाममा नागरिकता दिने वैधानिकता दिलाएको उल्लेख गर्दै किन आमाको नाममा नागरिकता लिन पाउने स्पष्ट व्यवस्था विधेयकमा नगरेको भनी गृहमन्त्री रामबहादुर थापाको गम्भीर ध्यानाकर्षण समेत गराइन् ।

बुबा नभएको हकमा मात्रै आमाको नाममा नागरिकता पाउने भन्ने व्यहोरा मात्रै विधेयकमा उल्लेख भएकोमा उनको आपत्ति छ । सांसद पाण्डेले आमाको नाममा नागरिकता लिने स्पष्ट व्यवस्था नागरिकसम्बन्धी ऐनमा हुनुपर्ने माग पनि गरिन् ।

बैठकमा बोल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अर्का सांसद झपड रावलले पनि गैर नागरिकहरूलाई पनि नागरिकता वितरण गरिएको दावी गर्दै छानवीन गरी दोषीमाथि कडा कार्वाही गर्न सरकारसँग माग गरे ।

प्रकाशित मिति: Nov 30, 2018

प्रतिक्रिया दिनुहोस्