समाजमा डरलाग्दो रुप : फेरि काठमाडौँमा अर्का एक बालकको अपहरणपछि हत्या
नागरिक टाइम्स, काठमाडौँ : काठमाडौँमा फेरि एक बालकको अपहरणपछि हत्या भएको छ । दुई दिनअघि बेपत्ता भएका ८ वर्षिय बालक प्रयास कुँवरको अपहरणपछि हत्या भएको हो । उनी गोंगबुमा रहेको त्रिवेणी स्वस्तिका गेष्ट हाउस सञ्चालक प्रदीप छोरा हुन् । महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहको टोलीले बालकको शव म्हेपीको पुलमुनि फेला पारको हो ।
प्रयास गत मंगलबारदेखि सम्पर्कमा थिएनन् । उनी गेस्ट हाउसबाटै हराएको जानकारी परिवारबाट मिलेपछि प्रहरीले खोजीकार्य तीव्र बनाएको थियो । बिहीबार उनको शव झोलामा पोको पारेको अवस्थामा भेटिएको हो । बालकको शवलाई पोष्टमार्टमका लागि लैजाने तयारी गरिएको छ । घटनामा संलग्न रहेको आशंकामा मृतक कुँवरका बुबाको गाडी चलाउने चालक महेन्द्र सार्कीलाई नियन्त्रणमा लिइएको छ । थप अनुसन्धान जारी रहेको एसएसपी सिंहले बताए ।
चालक सार्कीको बयानकै आधारमा शव बरामत गरेको प्रहरीले जनाएको छ। चालक सार्कीले अपहरण गरेकै दिन बालकको हत्या गरेको प्रारम्भिक बयान दिएका छन् । प्रयास टाउन प्लानिङको वेलमेन्ट इन्टरनेश्नल स्कुलमा कक्षा १ मा अध्ययनरत् थिए । यसअघि केही महिना पहिले काठमाडौँ पेप्सीकोलामा एक बालकको अपहरणपछि हत्या भएको थियो । हत्यमा संलग नदुई जनालाई प्रहरीले इन्काउन्टर गरेको थियो ।
बालक अपहरण र हत्या : फिरौति लिन र रिसिइवी साँध्न
महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले गाडीचालक समेत रहेका महेन्द्र सार्कीले प्रयासको अपहरणपछि हत्या गरेको पुष्टि भइसकेको बताए । तर, यो अपहरणमा फिरौति माग नभएको प्रहरी अनुसन्धानले खुलाएको छ । उनले भने,‘रिसिइवीका कारणले हत्या गरिएको देखिन्छ ।’ मंगलबार साँझ आफ्नै गेस्ट हाउसमा रहेका प्रयासलाई चालक महेन्द्रले चकलेट किनिदिने भन्दै लगी ककनी पुराएर जंगलमा घाँटी थिचेर हत्या गरेको अनुसन्धानले देखाएको छ ।
पक्राउ परेपछि उनले बच्चाको हत्या गरेको र रातो झोलामा हालेर म्हेपीको पुलमुनी फालेको बताएका थिए । ७/८ बर्षअघि उपत्यकामा हुने गरेको अपहरण र हत्या श्रृङ्खला आजभोली बढेको छ । केही महिना अघिमात्र काठमाडौंको पेप्सीकोला टाउन प्लानिङमा अपहरण गरिएका ११ वर्षीय बालक निशान खड्काको शव भेटिएको थियो । बालकको अपहरणमा संलग्न भएको आरोप लागेका दुई जना प्रहरीसँगको मुठभेडमा मारिएका थिए ।
भक्तपुरको मध्यपुर थिमी–९ स्थितनगदेशमा बन्दै गरेको घरको प्रांगणमाखाल्डो खनेर गाडेको अबस्थामा बच्चाको शव भेटिएको थियो ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले अपहरणकारी खोज्ने क्रममा सूर्यविनायक नगरपालिका–८ गणेस्थान मन्दिरको दक्षिण क्षेत्रमा अवस्थित जंगलमा भएको मुठभेडको क्रममा मारिएको प्रहरीले जनाएको छ।
मारिनेहरुमा नुवाकोटका २२ वर्षीय गोपाल तामाङ र सिन्धुपाल्चोकका २३ वर्षीय अजय तामाङ थिए । उनीहरूले फिरौति माग्ने उद्देश्यले बालकको अपहरण गरेका थिए । सिन्धुपाल्चोकको मेलम्ची स्थायी घरभएका खड्का आमाको साथमा बस्थे । उनका बुबा रोजगारीको सिलसिलामा मलेसियामा थिए ।
पहिला फिरौतिका लागि बालकको अपहरण गर्ने संगठीत अपराधलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । त्यसकारण उपत्यकालगायतमा देखिने छिटपुट अपहरण र हत्याका घटना चिनेजानेका, नजिकका व्यक्तिले पैसा र रिसिइवी साँध्नका लागि नै गरिएको अनुसन्धानहरूले देखिएको सिंह बताउँछन् ।
त्यसो त उपत्यका बाहिर पनि बालकको अपहरण पछि हत्या नभएका होइनन् । रौतहटमा १२ वर्षीय बालकको अपहरणपछि हत्या गरेको अभियोगमा वडाध्यक्षसहित ७ जना पक्राउ गरिएको थियो । कटहरीया नगरपालिका–९ डुमरियावाट अपहरित दिलिप साहका १२ बर्षीय छोरा शनिदेवल भन्ने युवराज साहको हत्या गरेर फालिएको अवस्थामा सोमबार विहान शव फेला परेको थियो ।
आफ्नै घरमा दुई दिदीको बीचमा सुतिरहेका साहलाई छिमेकी वडाध्यक्ष रामअज्ञा राय यादवको योजनामा अपहरणपछि हत्या भएको प्रारम्भिक अनुसन्धानमा खुलेको थियो । वडाध्यक्ष यादवका छोरा शक्ति यादव, बृन्दावन नगरपालिकाको आकरपाथर टोलका रवी पटेल र विनोद पटेलको बयानबाट बालक अपहरण र हत्याको योजना वडाध्यक्षले नै बनाएको खुलेको हो ।
अपहरणकारीले बालकका पिता दिलिप साहसँगे १ करोड रुपैया फिरौती माग गरेको थियो । आफूहरु त्यति तिर्न नसक्ने बताएपछि करिब २ घण्टाको पटक पटकको वार्तालाप पछि पाँच लाख रुपैयामा बालकलाई अपहरण मुक्त गर्ने मोटामोटी डिल भइसकेको थियो । तर उनको शव फेला परेको थियो ।
अपहरणकारीहरुले २० दिनदेखि बालकको रेकी गरेको स्वीकार गरेका थिए । यस्तै, बाराको कलैयामा १२ माघ राति ४ वर्षीय बालकको अपहरणपछि हत्या भएको थियो । कलैया–५ बस्ने मोतिलालप्रसाद साहका ४ वर्षीय छोरा आशिषकुमार साहको हत्या भएको थियो । ढुंगा प्रहारबाट टाउकोमा गम्भीर चोट लागेका बालकको उपचारका क्रममा मृत्यु भएको थियो ।
अभिभावकहरु काममा गएका बेला राति ८ बजे अपहरणमा परेका बालकलाई एक घण्टापछि घरबाट करिब ४०० मिटर टाढा टाँगा स्ट्याण्ड नजिक अचेत अवस्थामा प्रहरीले फेला पारेको थियो । यस्तै, मोरङको रङ्गेली नगरपालिका–३ का १४ वर्षीय किशोर उपेन्द्र साहको अपहरणपछि हत्या भएको खुलासा भएको थियो । उनी पाँच वर्षअघि अपहरणमा परेका थिए ।
प्रहरीले साहको हत्यामा संलग्न रङ्गेली नगरपालिका–३ का इन्द्रलाल मण्डल, रमेश मण्डल र शम्भु साहलाई पत्रकारसम्मेलनमा नै सार्वजनिक गरेको थियो । पाँच वर्षअघि अर्थात् २०६७ साल फागुन ८ गते साँझ ७ः३० बजे घरबाटै बेपत्ता भएका ती किशोरको करिब छ महिनाअघि कङ्कालसहित लगाएका कपडा फेला परेपछि थालिएको अनुसन्धानबाट उनीहरूकै संलग्नतामा हत्या भएकोे पर्याप्त आधार फेला परेको थियो ।
अपहरण र फिरौतिका लागि अपराधीले अनेक हिसाबले यस्ता घटनामा तिव्रता दिएको पाइन्छ । उनीहरूले नाबालक र नवजात शिशुलाई पनि छाडेनन् । महोत्तरीको औरही–१ मा ७ महिने बालिकाको अपहरणपछि हत्या भएको थियो । अपहरणमा परेकी स्थानीय सन्तोष चौधरी र इन्द्रेशी चौधरीकी छोरी सोनालीको शव सोमबार भंगहा नगरपालिका–७ मेघनाथ गोरहन्नास्थित आँपको बगैँचामा फेला परेको थियो ।
औरही बजारस्थित आफ्नै पसलमा आमासँग खेल्दै गरेका वेला एक अपरिचित व्यक्तिले आफूलाई सन्तोषको साथी बताउँदै सोनालीलाई काखमा लिएर एकैछिनमा बेपत्ता भएका थिए । इन्द्रेशीले पसलको कामतिर ध्यान दिएको मौका पारेर उसले बच्ची अपहरण गरेको परिवारको भनाइ छ ।