चोक-चोकमा आकाशे पुल, कोटेश्वर-सूर्यविनायक सडकमा सुरुङ्ग मार्ग बनाउन जापान तयार
काठमाडौँ : राजधानीको कोटेश्वर-सूर्यविनायक सडकमा व्याप्त सवारी जाम घटाउन सडक निर्माणकर्ता जापान सरकार त्यहाँ सुरुङ्ग मार्ग निर्माण गर्न तयार भएको छ।
कोटेश्वरदेखि भक्तपुरको सूर्यवनायकसम्म सुरुङमार्ग बनाउन जापान तयार भएलगत्तै त्यस सम्बन्धी सम्झौताको तयारी समेत थालिएको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको जापान भ्रमणका बेला त्यससम्बन्धमा अनौपचारिक समझदारी बनेको थियो।
कोटेश्वर सुरुङ्ग मार्गसँगै सूर्यबनायक धुलिखेल ६ लेनको सडक निर्माणका लागि समेत छिट्टै समझादारी हुने बताइएको छ।
सडक विभागको विकास सहायता समन्वय महाशाखाका प्रमुख सञ्जयकुमार श्रेष्ठले एक महिनापछि सुरूङ्गको अध्ययन गर्ने जानकारी दिए। सुरुङ्ग निर्माणका लागि भक्तपुर क्षेत्र नम्बर २ का सांसद महेश बस्नेतले पनि सक्रियता देखाउँदै आएका छन्।
सडक विभागको बैदेशिक सहायता महाशाखामा भएको बैठकमा सुरूङ्ग मार्ग बनाउन जापानले अध्ययन गर्ने विषयमा सहमति भएको थियो । त्यस्तै अरनिको राजमार्ग अन्तर्गत कोटेश्वर सूर्यविनायक खन्डको चारदोबाटो चोक, मनोहरा पुल लोकन्थली र राधेराधे चोकमा आकाशे पुल निर्माण गर्ने सहमति बनेको छ ।
जडिबुटिको कार्यालयदेखि टङ्कप्रासाद आचार्यको सालिकसम्म र ठिमी क्षेयारोग अस्पताल क्षेत्रमा सर्भिस ट्र्याक निर्माण गर्ने, ५ ठाउँमा सडक ट्राफिक बत्ति राख्ने र जडिबुटी, लोकन्थली, कशौलटार, ठिमी लगायत ठाउँमा दुई तल्ले सर्भिस ट्र्याक बनाउने निर्णय भएको छ।