Logo
१० मंसिर २०८१, सोमबार
(November 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पप्पु र सरकारबीच सम्बन्ध बिग्रिएसँगै बहुप्रतिक्षित हुलाकी राजमार्गको काम ठप्प

बाँके : पप्पु लुम्बिनी जेबी कन्ट्रक्सनको नाममा ठेक्का रहेको बहुप्रतिक्षित हुलाकी राजमार्गअन्तर्गत बाँके खण्डको काम ठप्प भएको छ ।

नेपालगञ्जदेखि कटकुइयाँसम्मको ४४ किलोमिटरको हुलाकी सडक निर्माण ठेक्का पाएको पप्पु र सरकारबीच सम्बन्ध बिग्रिएसँगै निर्माणको काम प्रभावित भएको छ । पप्पुले यो ठेक्का रु ६० करोडमा गणपति कन्ट्रक्सनलाई दिएको छ ।

गणपतिले काम गरे पनि सरकारसँगको ठेक्का पप्पुकै नाममा रहेकाले हुलाकी सडकको काम प्रभावित भएको छ । पप्पुले देशका अन्यत्र काम गर्दा गरेको बदमासीको भरणपोषण यहीबाट गर्ने गरी केन्द्रबाट पत्र आएपछि जेठदेखि हुलाकी सडक कार्यालयले पैसा रोकेको छ । सरकारले पैसा रोकेसँगै पप्पुले गणपतिलाई आवश्यक रकम दिन नसक्दा निर्माण प्रभावित बनेको छ ।

सरकार र पप्पुबीचको लडाइँका कारण सदरमुकामसँग सडक सञ्जालमा जोडिने राप्तीपारिका बासिन्दाको सपना टाढा धकेलिएको छ । पैसा नपाएको भन्दै काम रोकेको गणपति कन्ट्रक्सनका प्रमुख तुलसीराम भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “राज्यका कारण हुलाकी सडकको काम रोकिएको छ ।” हुलाकी सडकको २०७४ माघमा ठेक्का लागेको थियो ।

ठेक्का सम्झौताअनुसार २०७६ साउनमा काम सक्नुपर्ने सम्झौता छ । “जेठदेखि भुक्तानी पाएका छैनौँ । कतैकतै अहिले पनि मुआब्जाको विवाद कायमै छ”, गणपति कन्ट्रक्सनका प्रमुख भण्डारीले भन्नुभयो, “सरकारले अहिले पनि भुक्तानी दिने हो भने हामीले साउनसम्ममा काम सम्पन्न गर्छौं ।” स्थानीय मुस्ताक अहमदले भन्नुभयो, “बल्ल बल्ल अगाडि बढेको हुलाकीको काम पनि रोकियो ”

सन् २००७ मा भारतले हुलाकी बनाउने सम्झौता गरेको थियो । सन् २०१० मा आएर काम शुरु ग¥यो । पाँच वर्षमा पाँच प्रतिशत पनि काम नगरेर भारतीय ठेकेदार फरार भयो । त्यसपछि बल्ल सरकारले हुलाकीको काम अघि बढाएको थियो । यी सबै घटनाक्रम हेरिरहेका राप्तीपारिका स्थानीयले शुरु भएको काम रोकिँदा फेरि काम अलपत्र पर्ने हो कि भन्ने चिन्ता गरेका छन् ।

हुलाकी सडक कार्यालयका इञ्जिनीयर सुरेश चौधरीले पप्पुले विराटनगरमा बदमासी गरेकाले त्यो रकम यताबाट असुल्न पैसा रोकिएको बताउनुभयो । हुलाकी सडकलाई नपार्न जिल्लाका सांसद लागिपरेका छन् । सांसद महेश्वर गहतराजले सरकार र पप्पुको विवादले जनता पिल्सिन नहुने बताउनुभयो । “धान मुसा खान्छ, चोट भ्यागुताले पाउनु हुँदैन”, सांसद गहतराजले भन्नुभयो ।

सांसद गहतराजले ठेक्का प्रक्रियामा देखिएको समस्याको गाँठो छिटो फुकाएर काम अघि बढाउनुपर्ने बताउनुभयो । ४४ किलोमिटर टाढा रहेका नरैनापुरका बासिन्दालाई सडक राम्रो नहुँदा सदरमुकाम आउन दिनभरि लाग्छ । नरैनापुर गाउँपालिकाका प्रमुख मो इस्तियाक अहमद साहले हुलाकीको काम छिटो सञ्चालन गर्न माग गर्नुभएको छ ।

“माथिको विवादसँग हामीलाई सरोकार छैन, यहाँ काम रोकिनु हुँदैन”, उहाँले भन्नुभयो, “छिटो काम थाल्नुस् ।” हुलाकी सडक नबन्दा अहिलेसम्म राप्तीपारिको जनता सदरमुकामसँग जोडिन सकेका छैनन् । सडक नहुँदा बघौडा क्षेत्र जिल्लाको कर्णाली भनेर चिनिन्छ । भारतसँग सीमा जोडिएका नरैनापुरवासी धेरै कारोवार भारततिर नै हुने गरेको छ ।

प्रकाशित मिति: Nov 28, 2018

प्रतिक्रिया दिनुहोस्