‘तमलोपा’ कार्यालयमा बस्ने भनिएको राजपा असन्तुष्टहरुको बैठक स्थगित
काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) का पूर्वसंयोजक महन्थ ठाकुरनिकट नेताकार्यकर्ताहरूको सोमबार बस्ने भनिएको बैठक स्थगित भएको छ । पार्टी अध्यक्षमण्डल संयोजकमा राजेन्द्र महतोको पदस्थापनपछि विकसित घटनाक्रमबारे छलफल गर्न राजपाका वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लालको अगुवाइमा बैठक बोलाइएको थियो ।
तत्कालीन तमलोपाको बिजुलीबजारस्थित कार्यालयमा बस्ने भनिएको बैठक ठाकुरको अनिच्छापछि स्थगन भएको हो । राजपा नेता सर्वेन्द्रनाथ शुक्लका अनुसार बैठक बोलाउन खोजेका पार्टीका नेताहरूलाई ठाकुरले सहमति नदिएपछि बैठक नहुने बताए ।
उनले बैठक बोलाउने विषयमा ठाकुरको संलग्नता नरहेको समेत प्रस्ट्याए । तर, तत्कालीन तमलोपानिकट नेताकार्यकताका बीच पार्टीको मौजुदा परिस्थितिबारे निरन्तर अनौपचारिक छलफल भने भइरहेको छ ।