Logo
१० मंसिर २०८१, सोमबार
(November 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चौधरीको हत्यापछि कपिलवस्तुमा प्रदर्शन, ठाउँ-ठाउँमा आगजनी

कपिलवस्तु : गत मंसिरमा सम्पन्न प्रदेश सभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका दीपेन्द्रकुमार चौधरीको गोली हानी हत्या भएको विरोधमा स्थानीयले कपिलवस्तुमा प्रदर्शन गरेका छन् ।  चौधरीको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै उनका आफन्तजनले आगजनी तथा विरोध प्रदर्शन गरेका छन् ।

शुक्रबार राति तीन जनाको समूहले शुद्धोधन गाउँपालिका वडा नं. -४, मोतीभारीका राजाबाबु भनिने स्थानीय युवा नेता ३० वर्षीय चौधरीको गोली हानी हत्या भएको थियो । मृतक चौधरी गएको प्रदेशसभा चुनावमा कपिलवस्तु निर्वाचन नं. १ ख बाट प्रदेशसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार बनेका थिए ।

प्रदर्शनकारीले हत्याको आरोप लागेका शुद्धोदन गाउँपालिका वडा नं. ४, मोतीभारीका अजित पाण्डेयको घरमा आगजनी गरेका छन् । उनीहरुले पाण्डेयको घरमा रहेको १ थान ट्याक्टर, १ थान हार्भेस्टर कम्बाइन र ४ थान मोटरसाइकलमा आगजनी गरेका छन् ।

आक्रोशित भीडले हत्याको विरोधमा हत्याआरोपी पाण्डेयको सो गाउँपालिका लवनीचौकमा रहेको परमिला आयल सेन्टरमा पनि आगजनीको प्रयास गरेका थिए । पेट्रोल पम्पको सुक्षाका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको ठूलो संख्यामा उपस्थिति रहेको छ ।

आगजनीको प्रयासलाई नियन्त्रणमा लिन खोज्दा सर्वसाधारण र प्रहरीबीच केहीबेर झडपसमेत भएको थियो । झडपका कारण सशस्त्र प्रहरी निरीक्षक गोविन्द श्रेष्ठको हातमा चोट लागेको छ भने थप २ जना प्रहरी घाइते भएका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले एक दर्जन बढी हवाई फायर र गोलीसमेत चलाएको प्रहरी नायब उपरीक्षक रवि रावलले बताए ।

प्रदर्शनकारी र आफन्तले हत्या आरोपी पाण्डेय पक्राउ नपर्दासम्म मृतकको शवको दाह संस्कार नगर्ने जनाएका छन् ।

प्रकाशित मिति: Nov 25, 2018

प्रतिक्रिया दिनुहोस्