अज्ञात समूहको गोली प्रहारबाट प्रदेशसभा सदस्य उम्मेदवारको ज्यान गयो
कपिलवस्तु : अज्ञात समूहको गोली प्रहारबाट कपिलवस्तुमा प्रदेशसभा सदस्य उम्मेदवारको ज्यान गएको छ ।
प्रदेश सभा सदस्यमा उम्मेदवार बनेका कपिलवस्तु शुद्धोधन गाँउपालिका ४ बस्ने ३० वर्षीय दीपेन्द्र बहादुर चौधरी (राजाबाबु) को ज्यान गएको हो।
जिल्लाको शुद्धोधन गाँउपालिका ४ मोतीभारी स्थित आफ्नै घर नजिकैको सडकमा शुक्रबार राति अज्ञात समूहले उनलाई गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
नजिकै घर भएका एक व्यक्तिसँग विवाद हुँदा राति झण्डै १० बजेतिर चौधरीमाथि गोली प्रहार भएको हो।
उनी प्रदेशसभाको निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट प्रदेश सभा सदस्यको स्वतन्त्र उम्मेदवार बनेका थिए।
गोली लागेर गम्भीर घाइते भएका उनलाई लुम्बिनी स्थित स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका क्रममा भैरहवा स्थित मेडिकल कलेजमा लैजाँदै गर्दा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरिक्षक सन्तोष पोख्रेलले जानकारी दिए।
उनका अनुसार हत्या गरिएको स्थानमा गोलीका ३, ४ खोका भेटिएका छन्। केही शंकास्पद व्यक्तिलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको पाेख्रेलले जानकारी दिए।