नेकपामा केन्द्रिय समिति बैठक डाक्न दबाब
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा केन्द्रिय समिति बैठक डाक्न दबाब पैदा हुन थालेको छ ।
नेकपाका युवा नेताहले तत्काल केन्द्रीय समिति बैठक बस्न पार्टी नेतृत्वलाई दबाब दिन थालेका हुन ।
हालै मात्र उनीहरुले पार्टी महासचिव विष्णु पौडेलसमक्ष ज्ञापनपत्र बुझाउँदै करिब २२ केन्द्रीय सदस्यले तत्काल केन्द्रीय कमिटी बैठक बस्न माग गर्दै ज्ञापनपत्र बुझाएपछि दबाब उत्पन्न भएको प्रष्ट देखिन्छ ।
पार्टी र सरकार सञ्चालनको विधि र प्रक्रियाबारे स्पष्ट धारणा तय गर्न तत्काल केन्द्रीय समिति बैठक बोलाउन दबाब दिएको केन्द्रीय सदस्य ठाकुर गैर बताउछन । ‘अहिले सिंगो पार्टीका नेता र कार्यकर्ताहरु बेरोजगार छन् ।
४४१ जना केन्द्रीय समितिका सदस्यहरुको समेत काम छैन । माथि पार्टी एकता भएपनि तल्लो कमिटीमा पार्टी एकता नहुँदा सिंगो पार्टीनै अनिर्णयको बन्दी बनेको छ । त्यसैले तत्काल केन्द्रीय समिति बैठक बोलाएर तल्लो कमिटीम पनि एकता प्रक्रियाको थालनी गर्नुपर्यो ।’ नेता गैरले भने ।
उनले तत्काल केन्द्रीय समिति बैठक बसेर पोलिट्ब्यूरो बनाउन समेत पार्टी नेतृत्वलाई दबाब दिइएको बताए । ‘पोलिटब्यूरो बनाएर मात्र केन्द्रीय नेतृत्वको कार्यविभाजन गर्नुपर्छ, यसो गर्दा न्यायसंगत ढंगले जिम्मेवारीको बाँडफाँड हुनसक्छ ।’ युवा नेताहरुका अनुसार बैठक नबस्दा अहिले सरकार र पार्टीबीचको सम्बन्ध समेत टाँढिदै गएको छ ।