‘कालो दिवस’ का कारण पार्टीबाट कारवाही तयारीपछि फोरमकी उपाध्यक्ष रेणु यादवद्वारा राजिनामा
काठमाण्डौं : संघीय समाजवादी फोरम नेपालको सम्पुर्ण जिम्मेवारीबाट उपाध्यक्ष रेणु यादवले राजीनामा दिएकी छन् । फोरमको पदाधकारी बैठकबाट यादवलाई प्रदेश २ को संयोजक तथा इन्चार्ज पदबाट हटाउन खोजेको सुइको पाएपछि उनले राजीनामा दिएकी हुन् ।
फोरमका एक पदाधकारीका अनुसार मंसिर २ गतेदेखी जारी पदाधिकारी बैठकमा पार्टीका महासचिव रामसहाय प्रसाद यादव र उपमहासचिव प्रकाश अधिकारीले प्रदेश २ को संयोजक र इन्चार्ज पदबाट रेणु यादवलाई हटाउन ठाडो प्रस्ताव ल्याएपछि यादवले राजीनामा दिएकी हुन् ।
संविधानप्रति असन्तुष्टि जनाँउदै गत असोज ३ गते फोरम नेपालको प्रदेश २ कमटीले कालो दिवस मनाएको थयो । केन्द्रको निर्णय बिपरित रेणुको अगुवाईमा प्रदेश २ मा कालो दिवस मनाइएपछि उनलाई कारवाही गर्न ठाडो प्रस्ताव आएको हो ।
केन्द्रको निर्णय बिपरित प्रदेशमा कालो दिवस मनाएपछि पार्टीको चरित्र द्वैद झै देखिएकाले उनलाई संयोजक तथा इन्चार्ज पदबाट हटाउने प्रस्ताव आएको थियो । त्यसपछि पुर्व मन्त्री समेत रहेकी यादवले केन्द्रिय कार्य समिति समक्ष राजिनामा पत्र बुझएकी हुन् ।