संसदीय समितिको प्रतिवेदन गुमनाम, सभापतिमाथि नै शंका
काठमाडौँ : पछिल्लो समय संसदीय समितिहरुले तयार पार्ने प्रतिवेदन गुमनाम पार्न थालिएको छ । संसदीय समितिहरुलाई मिनि संसदको रुपमा हेरिने गरिएतापनि तीनै समितिहरुले बनाएको प्रतिवेदन केहीको मिलेमत्तोमा गुमनाम पार्न थालिएको हो ।
चिनीको मूल्य घटाउने र अनियमिततामा संलग्नमाथि छानबिन गर्न सरकारलाई निर्देशन दिनुपर्ने सुझावसहितको सार्वजनिक लेखा समितिको उपसमितिले प्रतिवेदन तयार गरी सार्वजनिक लेखा समितिलाई दसैँ अघि नै बुझाएको थियो । तर उपसमितिको प्रतिवेदनमाथि छलफलै भएको छैन । जुनप्रतिवेदन गुमनाम छ । जसबाट समिति सभापतिको भूमिकामाथि नै प्रश्न उठ्न थालेको छ ।
स्रोतका अनुशार दसैं, तिहार र सभापतिको विदेश भ्रमणको कारण देखाउँदै समितिको बैठक नै बसालिएको छैन । समितिले चिनीबारे अध्ययन गर्न पूर्ववाणिज्य तथा अपूर्तिमन्त्री लेखराज भट्टको संयोजकत्वमा उपसमिति गठन गरेको थियो ।
यसले मन्त्रिपरिषदको निर्णयबाट लगाइएको चिनी आयातको परिमाणात्मक बन्देज हटाउने, मूल्य घटाउन सरकारलाई निर्देशन र निर्णय प्रक्रियामा संलग्न सरकारी अधिकारीमाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिनुपर्ने सुझाव पेस गरेको थियो ।
प्रतिवेदन समितिका सभापति भरत शाहलाई बुझाएको २२ दिन बितिसकेकोपनि उपभोक्ताले सबैभन्दा बढी चिनी प्रयोग गर्ने समय तिहार हुनै लाग्दा पनि प्रतिवेदनमाथि कुनै छलफल नहुँदा समितिमाथि नै शंका उत्पन्न भएको समति सदस्य प्रेम आलेले बताए ।