प्रतिनिधिसभाको बिषयगत समितिहरुको सभापति निर्वाचनको कार्यक्रम सार्वजनिक
काठमाडौं : संघीय संसदको प्रतिनिधि सभा अन्तर्गत रहने १० बिषयगत समितिहरुको सभापति निर्वाचनको कार्यक्रम सार्वजनिक गरेको छ । संघिय संसद्को सचिवालयले बुधबार सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार बिहिबार ११ बजे देखि ५ बजे सम्म समितिमा सभापति हुन चाहने सांसदले कम्तिमा एक जना प्रस्तावक र एक जना समर्थक रहेको उम्मेदवारी प्रस्ताव दर्ता गराउनु पर्ने छ।
यसरी सबै १० वटा समितिमा दर्ता हुन आएको प्रस्ताव दर्ता समय अनुसार मिलाई बिहिबार बेलुका उम्मेदवारको सुची प्रकाशन गरिने छ। यसरी दर्ता हुन आएको प्रस्ताव शुक्रबार ११ बजे बस्ने समितिको बैठकमा दर्ता क्रम अनुसार निर्णयार्थ प्रस्तुत गरिने नियमावलीमा व्यवस्था छ।
जुन उम्मेदवारको पक्षमा समितिको बैठकमा पहिलो बहुमत पुग्छ त्यसलाई नै बिजयी घोषणा गरिने छ । सभापतिमा एक मात्र उम्मेदवार प्रस्ताव दर्ता भए निर्बिरोध घोषणा गरिने ब्यबस्था नियमावलीमा छ ।
शुक्रबार निर्वाचन हुने प्रतिनिधिसभाका समितिहरु राज्य व्यवस्था तथा सुशासन, विकास तथा प्रविधि, शिक्षा तथा स्वास्थ्य, सार्वजनिक लेखा समिति, अर्थ समिति , अन्तर्रा्ष्ट्रिय सम्बन्ध समिति , उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानवअधिकार समिति , कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र महिला तथा सामाजिक समिति रहेका छन्।