सैनिक मुख्यालयमा एकपछि अर्को विदेशी राजदूत पुग्दै, भारतपछि पुगे चिनियाँ राजदूत
काठमाडौं : सैनिक मुख्यालयमा एकपछि अर्को कुटनैतीक भेटका लागि क्रम बढी रहेको छ । भारतीय राजदूतले भेटघाट गरेको केहि दिनपछि प्रधानसेनापतिसँग भेटघाटका लागी चिनियाँ राजदूत पुगेका छन् । नागरिक सर्वोच्चता रहेको कुनै मुलुकमा विदेशीहरुले सेनाप्रमुखलाई भेट्ने चलन छैन। तर नेपालमा त्यसको पालना भएको पाइँदैन ।
भेटघाटको शृंखलाकै क्रममा शुक्रबार चिनियाँ राजदूत यू होङले प्रधानसेनापति पूर्णचन्द्र थापालाई सैनिक मुख्यालयमै गएर शिष्टाचार भेट गरेकी छिन् । गत सोमबार दक्षिणी छिमेकी देश भारतका राजदूत मञ्जीवसिंह पुरी सेनाप्रमुख थापासँग शिष्टाचार भेटका लागि सैनिक मुख्यालयमै पुगेका थिए ।
विदेशी नियोगका प्रमुख वा अन्य पाहुनाले नेपालका सरकारी कर्मचारी, अथवा सार्वजनिक पद धारण गरेका व्यक्तिसँग भेटघाट गर्दा परराष्ट्र मन्त्रालयलाई जनकारी गराउनुपर्ने कूटनीतिक व्यवस्था रहेको छ । तर, नेपालमा यो व्यवस्थालाई अवमूल्यन गर्दै भेटघाट हुने गरेको छ ।
केही समयअघि मात्रै नेपाल सरकारले भारतको पुनेमा भइरहेको बिम्स्टेक क्षेत्रका सैन्य अधिकारीहरुको संयुक्त अभ्यास कार्यक्रममा सहभागिता नजनाउने बताएको थियो । त्यसको तीन दिनपछि सेना प्रमुख थापा र भारतीय राजदूत पुरीबीच सेनाको मुख्यालयमै भेट भएको थियो ।
बाहिरी मुलुकमा पनि विदेशी राजदूतहरुसँग सेनाप्रमुखले भेटघाट गर्ने प्रचलन नभएको सुरक्षा मामिलाका एक जानकार बताउँछन् ।अर्कोतर्फ यस्तो भेटघाटमा कूटनीतिक आचारसंहिता पालन गर्नुपर्नेमा त्यो पालना भएको पाइँदैन । स्थायी राज्य संस्थाको रुपमा राजतन्त्रको अन्त्य भएपछि विदेशीहरुले नेपालको सैनिकलाई प्रलोभनमा पार्ने चेष्टा बढ्दै गएको टिप्पणी आउँदै गर्दा यस्ता किसिमबाट लगातार रुपमा भइरहेको भेटघाटका बारेमा भने सेना सचेत हुनुपर्ने विज्ञहरु बताउँछन् ।