Logo
५ मंसिर २०८१, बुधबार
(September 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुपथ मूल्यका पसल संचालनमा ल्याईदै

काठमाडौं : सरकारले चाडपर्वलाई लक्षित गर्दै सुपथ मूल्यका पसल संचालनमा ल्याउने तयारी गरेको छ । आगामी असोज १२ गतेदेखि काठमाडौं उपत्यकासहित देशका मुख्य शहर तथा जिल्ला सदरमुकामहरुमा त्यस्ता पसल सञ्चालनमा ल्याउन लागिएको हो । दशैं तिहार र छठ पर्वलाई ध्यानमा राखेर देशभर ४७ वटा सुपथ मूल्यका पसल खुल्ने आपूर्ति मन्त्रालयका प्रवक्ता नबराज ढकाल बताउछन् ।

उनका अनुसार यसरी खुल्ने पसल कात्तिक २७ गतेसम्म चल्नेछन् । उनले भने,‘दशैं तथा तिहारका समयमा उपभोक्तालाई राहत दिनका लागि सरकारले सुपथ मूल्यका पसल सञ्चालन गर्न लागेको हो ।’

साल्ट ट्रेडिङ, नेशनल ट्रेडिङ, खाद्य संस्थान र दुग्ध विकास संस्थानले सस्तो उपभोग्य सामान उपलब्ध गराउन पसल खोल्नेछन् । कालिमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, भक्तपुर, ललितपुरमा तीनवटै संस्थानले एकीकृत पसल चलाउने तयारी छ ।
यी पसलमा मोटा चामलमा प्रतिकिलो ५ रुपैयाँ, चिनीमा ५, बास्मतीमा १०, खसीबोका च्यांग्रामा १०, नुनमा २, डिडिसी घ्युमा ५० र पनिरमा प्रतिकिलो १० रुपैयाा छुट दिने निर्णय भएको छ ।

खाद्य संस्थानले सिंहदरबारमा एकीकृत र ७ प्रदेशमा थप ११ वटा सुपथ मूल्यका पसल खोल्नेछ । यस्तै साल्ट ट्रेडिङले काठमाडौंमा ९ वटा आफ्नै डिपोहरुमा पसल चलाउनेछ भने उपत्यकाबाहिर २२ वटा डिपो र घुम्ती पसल गरेर ३६ वटा सुपथ मूल्यका पसल चलाउने योजना तयार भएको छ । उपत्यकामा ३ वटा मोवाइल भ्यानबाट पनि घर दैलोमा सामान पुर्याउने व्यवस्था गरिएको छ ।

त्यसैगरी उपत्यकाबाहिर कृष्णनगर, सुर्खेत, नेपालगंज, टिकापुर, धनगढी, महेन्द्रनगर, दिपायल, डडेल्धुरा, बेलौरी, त्रिशुली, बैतडी, हटौंडा, पोखरा, अछाम, बाजुरा, बझाङ, विर्तामोड, विराटनगर, राजविराज, लाहान, जनकपुर, वीरगञ्ज, बाग्लुंग, भैरहवा लगायत स्थानमा सुपथ मूल्यका पसल सञ्चालन आउने छन् ।

यस्ता पसलमा सरकारी संस्थानले खाद्यान्न तथा उपभोग्य समानमा विभिन्न छुटहरु दिनेछन् । दाल, चामल, चिनी, मैदा, सुजी, दाल र सोयाविन तेलमा छुट दिइने छ । दुग्ध विकास संस्थानले घीउमा छुट दिनेछ । खाद्य संस्थानले चामल, गहुँ र गेडागुडी सुपथ मूल्यमा उपलब्ध गराउनेछ । यसरी उपभोक्तालाई चाडपर्वमा सरकारले राहत दिन लागेको छ ।

प्रकाशित मिति: Sep 13, 2018

प्रतिक्रिया दिनुहोस्