लोकतन्त्रलाई समावेशी र जनउत्तरदायी कसरी बनाउने ? भन्ने अध्ययन गर्न भट्टराई अमेरिका जाँदै
पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई प्राज्ञिक भ्रमणका लागि संयुक्त राज्य अमेरिका जाँदै छन् । यो भ्रमण उनले प्राज्ञिक अध्ययनको उद्देश्यसाथ गर्न लागेको उनको सचिवालयले जनाएको छ ।
भ्रमणका क्रममा उनले अमेरिकाका विभिन्न राज्यहरुमा पुगी सम्भव भएसम्म त्यहाँका प्रवुद्ध र प्राज्ञिक व्यक्तित्वहरु, नीति निर्माताहरु, चिन्तकहरु, प्राध्यापकहरु, दक्षिण एशियाका बारेमा जानकारी राख्ने स्तम्भकार तथा लेखकहरु, विकासका क्षेत्रमा कार्यरत व्यक्तित्वहरु र प्रवासी नेपाली तथा दक्षिण एशियालीहरुसँग पनि अन्तरक्रिया गर्नेछन् ।
उनको यो भ्रमणको सम्पूर्ण व्यवस्थापन गैह्र-आवासीय नेपाली संघले गर्नेछ । उनीसँग भ्रमणमा पूर्वमन्त्री तथा नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमी पनि रहनेछिन् । मंगलवार बेलुका संयुक्त राज्य अमेरिका तर्फ लाग्ने संयोजक भट्टराई भ्रमण पूरा गरी असोज २२ गते नेपाल फर्कनेछन् ।
‘उनले यो भ्रमण मुख्यतः केही प्रश्नहरुका साथ गर्दै हुनुहुन्छ – विश्वभर नै नवउदारवादी लोकतन्त्र र राज्य-समाजवादरसाम्यवाद दुबै राजनीतिक प्रणालीमा देखिएको संकटको कारण के हुन सक्छ ? के यो २१ औं शताब्दीमा नयाँ राजनीतिक विचार र वैकल्पिक राजनीतिक शक्तिको जन्मको पूर्वसूचक हुनसक्छ ?’
उनको सचिवालयले भनेको छ ‘नेपाल जस्ता भर्खरै लोकतन्त्रको स्थापना भएका देशहरुमा लोकतन्त्रलाई अधिक समावेशी, सहभागितामूलक र जनउत्तरदायी कसरी बनाउन सकिन्छ ? नेपालजस्ता अतिकम विकसित देशहरुलाई निकै छोटो समयमा नै विकसित र समृद्ध देशमा कसरी रुपान्तरण गर्न सकिन्छ ? अरु विकसित देशहरुको अनुभवबाट के सिक्न सकिन्छ ? यिनै प्रश्नहरुको वरिपरि रहेर उहाँले भ्रमणका क्रममा अन्तरक्रिया गर्नुहुनेछ,’ उनको सचिवालयले जनाएको छ ।