Logo
२ मंसिर २०८१, आईतबार
(September 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोदी सरकार विरुद्धमा ‘भारत हडताल’, राहुल गान्धीलाई २१ पार्टीको साथ (फोटो फिचर)

पेट्रोल-डिजेलको बढ्दो मूल्यको विरोधमा कांग्रेस समेत पूरै विपक्षी पार्टीले सोमबार भारत बन्दको आह्वान गरेको छ । यसलाई २१ राजनीतिक पार्टीहरुले समर्थन दिएका छन् । भारत बन्दको प्रमुख असर सोमबार बिहानैदेखि भारतका विभिन्न राज्यहरुमा परेको छ । बिहार, केरल, कर्नाटक, गुजरात, ओडिशा, तेलंगाना, राजस्थान, छत्तिसगढमा मुख्य रुपमा बन्दको प्रभाव परेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

बिहानैदेखि भारतका अलग–अलग राज्यमा कतै ट्रेन रोकिएको छ त कतै बसहरु तोडफोड गरिएको छ । बिहारको राजधानी पटनामा जनअधिकार पार्टीका कार्यकर्ताहरुले मिलेर ट्रेन नै रोकेका थिए । त्यस्तै कयौँ राज्यमा बसमा तोडफोड गरिएको छ त कतै आगजनी भएको खबरहरु आइरहेका छन् । बिहारमा जनअधिकार पार्टीका कार्यकर्ताहरुले ट्रेन तथा सडकमा चलिरहेका सवारी साधनमा तोडफोड गरेका थिए । आन्ध्रप्रदेशको विशाखापट्नममा सडक जाम गरेर प्रदर्शन भइरहेको छ । गुजरातमा सडकबीच टायर बालेर विरोध प्रदर्शन गरिएको छ ।

कांग्रेस आईका अध्यक्ष राहुल गान्धी वरिष्ठ नेताहरुका साथमा दिल्लीमा विरोध प्रदर्शन गरिरहेका छन् । यसभन्दा अगाडि उनले राजघाटमा महात्मा गान्धीलाई श्रद्धान्जली दिएपछि र्याली निकालेका थिए । राहुलका साथ प्रदर्शनमा सोनिया गान्धी, पूर्वप्रधानमन्त्री मनमोहन सिंह, एनसीपी प्रमुख शरद पवारलगायत छन् । कांग्रेस सहित २१ विपक्षी पार्टीहरुको समर्थन रहेको भारत बन्दका कारण त्यहाँको जनजीवन अस्तव्यस्त बनेको बताइएको छ । कांग्रेस अध्यक्ष राहुल गान्धी र अन्य नेताहरुले राजघाटदेखि रामलीला मैदानसम्म पैदल मोर्चा निकालेका थिए ।

रामलीला मैदानमा भाषण दिदैँ राहुलले मोदी सरकामाथि निशाना बनाएका छन् । उनले भने, ‘मोदी पेट्रोल–डिजेलको कुरामा सधैँ किन मौन रहन्छन्? उनले पेटेल–डिजेलको बढ्दो मूल्यमाथि एक शब्द पनि बोलेनन् । राहुलले अगाडि थप्दै भने, ‘आज पूरै विपक्षी यहाँ एकसाथ बसेको छ । हामी सबै मिलेर एकसाथ भाजपालाई हटाउने काम गर्नेछौँ ।’ भारतमा इन्धनको मूल्य लगातार बढिरहेको छ । आइतबार दिल्लीमा पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च ८०.५० भारु पुग्यो, डिजेल ७२.६१ प्रतिलिटर पुग्यो । यसैगरी मुम्बईमा पेट्रोलको ८७.८० र डिजेलको ७७.०९ पुगेको छ ।

डिजेल–पेट्रोलको बढ्दो मूल्यका विरुद्धमा गरिएको भारत बन्दका क्रममा बिहारमा २ बर्षीया बालिकाको निधन भएको छ । बन्दका कारण कुनै पनि सवारी साधन नचल्दा बिरामी बालिकालार्इ अस्पताल पुर्याउन नपाउदा उनको बाटोमा नै मृत्यु भएको बताइएको छ ।

 

प्रकाशित मिति: Sep 10, 2018

प्रतिक्रिया दिनुहोस्