Logo
५ मंसिर २०८१, बुधबार
(September 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुर्घटनाग्रस्त हेलिकोप्टरमा सवार सातै जनाको परिचय खुल्यो, एक जना जपानी नागरिक

काठमाडौं : गोर्खाबाट काठमाडौं फर्किने क्रममा धादिङ र नुवाकोटको सिमानामा दुर्घटनाग्रस्त अल्टिच्युड एयरको हेलिकोप्टरमा सवार सातै जनाको परिचय खुलेको छ ।

हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित पाँच जना नेपाली र एक जना जापानीज नागरिक रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले बतायो ।

स्रोतका अनुसार हेलिकोप्टरमा रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोर्खाको चुमनुब्री गाउँपालिका २ का ल्हो आनी डोल्पा डिकी, गोर्खाको सामागाउँ चुमनुब्री सम्दो १ का छोवाङ नुर्बु, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ, पाइलट निश्चल केसी र जापानी नागरिक हिरोमी कोमात्सु छन् । जापानी नागरिक कोमात्सुको पासपोर्ट नम्बर TK 713612068 हो ।

उनीहरुको अवस्था के-कस्तो छ भन्ने खुलिसकेको छैन । अल्टिच्युड एयरका सिताराम सापकोटाले अनलाइनखबरसँग भने, ‘हामी घटनास्थल पुगिसकेका छैनौं । कसको अवस्था कस्तो छ अझै भन्न सकिने अवस्था छैन ।’

गोर्खाबाट फर्किँदा सम्पर्कविहीन भएको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर धादिङ र नुवाकोटको सीमा क्षेत्रमा फेला परेको हो ।

धादिङको सत्यवती गाउँपालिकास्थित वत्सला मावि नजिक हेलिकोप्टर फेला परेको जानकारीमा आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । हेलिकोप्टर भेटिएको भनिएको क्षेत्र धादिङ र नुवाकोटको सीमा क्षेत्रमा पर्दछ ।

स्थानीयले हेलिकोप्टर दुर्घटना भएको भनेर खबर गरेको प्रहरी स्रोतले बतायो । प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले विस्तृत विवरण नआएको बताएका छन् । प्रहरी घटनास्थलमा पुगेपछि मात्रै विस्तृत जानकारी आउने उनको भनाइ छ ।

गोर्खाको सामागाउँमा पर्यटक छाडेर, त्यहाँबाट बिरामी ल्याएर हेलिकोप्टर काठमाडौं फर्किँदै गर्दा सम्पर्कविहीन भएको थियो ।

गोर्खाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार करिब २५ माइल उडेपछि हेलिकोप्टर सम्पर्कविहीन भएको थियो । गोर्खाको चुमनुब्री गाउँपालिकाको सामागाउँ मनास्लु क्षेत्रमा पर्दछ ।

प्रकाशित मिति: Sep 8, 2018

प्रतिक्रिया दिनुहोस्