बजारमा एक हजारको नक्कली नोट छ्यापछ्याप्ती
एउटै नम्बर अंकित १ हजार रुपैयाँका नक्कली नोट बेंसीसहरका बजारमा छ्यापछ्याप्ती देखिएको छ । एकै दिनको अघिपछि उक्त नोट बजारमा भेटिएपछि आर्थिक कारोबारमा संलग्न ग्राहक तथा वित्तीय संस्थामा त्रास फैलिएको छ । बजारमा देखिएको नक्कली नोट सहकारी तथा बैंकसम्म पुगेको छ। केही पैसा बैंकबाट सहकारी हुँदै ग्राहकबाट अर्को बैंकसम्म पुगेको छ।
एउटै नम्बरका उक्त नोटमा अघिल्लो भागको दायाँतर्फ ‘च’ को मुनी २५ र ३१४१४३ र बायाँ तर्फ ‘च’ को मुनी २५ र ३१४१३४ अंकित छ। बेंसीसहर–८ शेराका ईश्वरकुमार श्रेष्ठले अन्नपूर्ण बचत तथा ऋण सहकारीबाट १ हजार रुपैयाँका १ सय नोट रहेको १ लाख रुपैयाँको प्याक लगेर राष्ट्रिय वाणिज्य बैंकमा लैजाँदा बैंकले प्याकमा एउटा नक्कली नोट फेला पारेको बताए।
उनका अनुसार उक्त नोट सनराइज बैंकको छापसहितको टाँचा लागेको थियो । बैंकका प्रबन्धक मानबहादुर खत्रीका अनुसार ग्राहकले सुन चुक्ता गर्न आउँदा उक्त १ लाख रुपैयाँको प्याकभित्र उक्त नोट परेर आएको हो। मेगा बचत तथा ऋण सहकारीका प्रबन्धक सुमन सेवदीका अनुसार बजारमा किस्ता संकलन गरेर आएका बजार प्रतिनिधिबाट १ हजार रुपैयाँका २ वटा नक्कली नोट सहकारीमा आइपुगेको छ । दुवैको एउटै नम्बर रहेको छ ।
बुधबार बेंसीसहरकै संयुक्त भूपू सैनिक बचत तथा ऋण सहकारी संस्थाबाट जम्मा गर्ने भनी रिलायन्स फाइनान्समा बुझाएको रकममा १ हजार रुपैयाँको नक्कली नोट परेको छ । फाइनान्सका प्रबन्धक विशाल जोशीका अनुसार बिहीबार उक्त रकम फेला परेको हो। नवील बैंकका सहायक प्रबन्धक नारायणप्रसाद आचार्यले ग्राहकले बुझाएको रकममा १ हजार रुपैयाँको नक्कली नोट फेला परेको तर, कसले बुझाएको हो भनी थाहा नभएको बताए ।