अख्तियारको प्रमुख आयुक्तमा नविन घिमिरेको नाम सिफारिस
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नविन घिमिरे सिफारिस भएका छन् । संवैधानिक परिषदको बुधबारको बैठकले घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिस गरेको सभामुख कृष्णबहादुर महराले जानकारी दिए ।
उनी कार्यबहाक प्रमुख आयुक्तका रुपमा कार्यरत थिए । अख्तियार दुरुपयोगमा लामो समयदेखि प्रमुख आयुक्त पद खाली रहेको थियो । बुधबारको संवैधानिक परिषद बैठकले घिमिरेको नाम नै सिफारिस गरेको हो ।
परिषदले सरकार र संसदीय सुनुवाई समितिका नाम सिफारिस गरेर पठाउने व्यवस्था रहेको छ । अब घिमिरेको नियुक्ति सम्बन्धमा सुनुवाई समितिमा प्रक्रिया अघि बढ्ने छ ।
को हुन घिमिरे ?
वि.सं. २०१२ साल भदौमा जन्मिएका घिमिरे काठमाडौंको सिफलका स्थायी बासिन्दा हुन् । जन प्रशासनमा स्नातकोत्तरसम्मको अध्ययन गरेका घिमिरे २०७४ फागुनदेखि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तका रूपमा कार्यरत छन् ।
निवर्तमान प्रमुख आयुक्त दीप बस्न्यातले अवकाश पाएपछि घिमिरेले कार्यवाहक प्रमुखका रूपमा अख्तियारको नेतृत्व सम्हाल्दै आएका छन् । लामो समय गृह प्रसाशनमा काम गरेका घिमिरे काबिल प्रशासक मानिन्छन् । गृहसचिवबाट अवकाश पाउनुअघि उनले रक्षा, वन तथा भुसंरक्षण मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालिसकेका छन् ।
सुरक्षा र प्रशासन क्षेत्रका विज्ञ घिमिरेले आफ्नो जीवनको ३५ वर्षभन्दा बढी समय प्रशासनिक क्षेत्रमा व्यतित गरेका छन् । घिमिरे सुप्रबल जनसेवाश्री पुरस्कारबाट समेत सम्मानित भइसकेका छन् ।