सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएपनि प्रकाण्डलाई बिराटनगर पुर्याइयो
व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको भोलिपल्ट मंगलबार सुटुक्क बिराटनगर पुर्याइएको छ ।
यसअघि भदौ ७ गते विश्वकर्मालाई न्यायाधीश केदारप्रसाद चालिसे र पुरुषोतम भण्डारीको संयुक्त इजलासले सर्वोच्च अदालतको रजिस्ट्रारको रोहवरमा छाड्न आदेश दिएको थियो ।
श्रीएअरलाईन्सको बिमानमार्फत ११.५५ बजे उनलाई बिराटनगर ल्याईएको हो । उनलाई भोजपुर लाने तयारी गरिएको स्रोतको दाबी छ । सर्वोच्च अदाललते विश्वकर्मालाई थुनामुक्त गर्न दिएको सोमबार तेस्रो पटक आदेश दिएको थियो ।
त्यसैगरी विश्वकर्मालाई यही भदौ १ गते न्यायाधीश चोलेन्द्रशम्शेर राणा र तेजबहादुर केसीको संयुक्त इजलासले सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार राजन भट्टराई र नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीको रोहवरमा छाड्न आदेश दिएको थियो ।
विश्वकर्मालाई व्यापारीसँग रु सात करोड चन्दा असुली गरेको आरोपमा चन्दा ऐन २०३० अनुसार काठमाडौँ प्रहरीले कारवाही अघि बढाएको थियो ।