आन्दोलनकारी डाक्टरहरुका कारण विचल्लीमा बिरामी
काठमाडौँ : नेपाल चिकित्सक संघले भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध (संहिता) मा चिकित्सकसँग सम्बन्धित व्यवस्था संशोधन गर्न माग गर्दै देशभरको आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प पारेपछि बिरामीहरु विचल्लीमा परेका छन्। चिकित्सकहरुको आन्दोलनका कारण राजधानीका अधिकांश सरकारी अस्पताल प्रभावित भएका छन्।
बिरामीहरु उपचारबिनै फर्किन बाध्य भएका छन्। स्वास्थ्य सेवा ठप्प पारेर चिकित्सकहरू माइतीघर मण्डलामा एप्रोनसहित विरोध प्रदर्शनमा उत्रिएका छन्। महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा आइतबार ओपिडीको एउटा पनि टिकट काटिएन। काउन्टर बन्द भएपछि सेवा पनि ठप्प भयो।
फलोअप र ओपिडीका बिरामी उपचारबिनै फर्किए भने शल्यक्रिया समेत प्रभावित भयो। आकस्मिक बाहेक लामो समयदेखि शल्यक्रियाका लागि पर्खिएका बिरामीको शल्यक्रिया समेत रद्द भयो। पालो पर्खेर बसेका पित्तथैली, मृगौलाका बिरामी र गर्भवतीको शल्यक्रिया भएन। आइतबार शल्यक्रिया गर्ने भनेर तयारी अवस्थामा राखिएका बिरामी अस्पताल बेडमा अलपत्र छन्।
बेड चार्ज मात्रै बढेको र अस्पताल बसाई लम्बिएकोमा उनीहरू थप चिन्तित अनि आक्रोसित छन्। टाढाबाट आएका भर्नारत बिरामी आत्तिएका छन्। अस्पतालका वरिष्ठ मेडिकल रेर्कडर कुमार केसीले भने, ‘ शल्यक्रियाका लागि औषधी दिएर ठिक्क पारिएका बिरामीको उपचार भएन, रोकिएको शल्यक्रिया कहिले हुने हो थाहा छैन।’
वीर अस्पतालमा पनि आइतबार बिहानैबाट प्रभावित भयो। ओपिडी टिकट काउन्टर खुल्दै खुलेन। डाक्टरहरु उपचार कक्षमा बसेनन्। बिरामीले उपचारका लागि घण्टौ प्रतिक्षा गरे। टिकट नपाइएकोबारे उनीहरू अनभिज्ञ थिए। दिउँसोसम्म अस्पताल परिसरमा अलमल गरिरहेका थिए ।