सार्कको विकल्प होइन बिमस्टेक, यो हिमाल र महासागर जोड्ने थलो हो : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सार्कको विकल्प रुपमा बिमस्टेक नभई यो हिमाल र महासागर जोड्ने थलो भएको बताएका छन् । उनले सार्क र बिमस्टेक एकअर्काको पूरक नभएको समेत बताए । काठमाडौं स्थित होटल सोल्टीमा बिहीबार बिमस्टेकको चौथो शिखर सम्मेलनको उदघाटन गर्दैै ओलीले बिमस्टेकप्रति क्षेत्रीय सहयोगको प्रक्रियाका लागि नेपालको मजबुत प्रतिबद्धता रहेको बताए ।
उनको सम्बोधनसँगै प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास अर्थात बिमस्टेकको चोथौ सम्मेलनको सुभारभ्भ भएको हाृे । ‘नेपाल अर्थपूर्ण क्षेत्रीय साझेदारीको पक्षमा छ, सार्क र बिमस्टेक एक अर्काको विकल्प होइन आपसमा पूरक हुन्’, उनले भने, ‘हामी बीबीआईएनमार्फत उपक्षेत्रीय साझेदारीलाई पनि सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गर्दछौं ।’
सम्मेलनको अध्यक्षतासमेत गरिरहेका ओलीले भने ‘बिमस्टेकले केवल हाम्रा देशहरूलाई मात्र जोड्दैन, यसले दक्षिण एसिया र दक्षिण(पूर्वी एसियालाई पनि गाँस्छ ।’ बिमस्टेकले महासागरहरूका साथै पहाडहरू जोड्ने र पारिस्थितिकीय परस्पर निर्भरतालाई बलियो बनाउने उनको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले बिमस्टेक सदस्य राष्ट्रलाई जोड्ने बलियो माध्यम बुद्ध धर्म पनि रहेको बताए । उनले यस क्षेत्रका देशलाई एक आपसमा जोड्न र पर्यटन विकासका लागि बुद्धिष्ट सर्किट महत्वपूर्ण रहेको धारणा पनि राखे ।
बिमस्टेक सदस्य राष्ट्रहरुको क्षमता साकार पार्न सबैभन्दा पहिला नागरिकहरूलाई गरिबीबाट मुक्त गर्नुपर्नेमा उनको जोड थियो । चरम गरिबीले दुष्चक्रतिर डोर्याउने मात्रै होइन अमानवीय, अन्यायपूर्ण र घातक रहेको ओलीको निश्कर्ष थियो । बिमस्टेकले गरिबी निवारणका योजनाहरूलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउनुपर्नेमा उनको जोड थियो ।
बिमस्टेक क्षेत्र आतंकवाद, संगठित अपराध, लागूऔषधको तस्करी, मानव तस्करी तथा मनि लाउन्डरिङको जोखिममा रहेको उनले सम्मेलनमा बताए । ओलीले भने, ‘हामी आतंकवादको सबै रूप र अभिव्यक्तिहरूलाई पराजित गर्न एकजुट हुनु आवश्यक छ ।’
प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को चाहना पुरा गर्न अन्तर्राष्ट्रिय समूदायको समर्थन र सद्भावबिना आवश्यक रहेको बताए । सम्मेलनको पहिलो दिनको औपचारिक कार्यक्रम सकिएपछि प्रधानमन्त्री ओलीले विशिष्ट अतिथिहरूको सम्मानमा आयोजित रात्रीभोज होटल हयातमा शुरु हुनेछ ।
शुक्रबार विहानको कार्यक्रम प्रधानमन्त्री ओलीद्वारा आयोजित ‘रिट्रिट’ बाट शुरु हुनेछ । त्यसपछि बिहान साढे दश बजे बिमस्टेकको दोस्रो दिनको सत्र शुरु हुनेछ । अन्तिम दिन महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर र काठमाडौं घोषणापत्र जारी गर्दै सम्मेलन सम्पन्न हुनेछ ।