Logo
५ मंसिर २०८१, बुधबार
(August 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिम्स्टेक सदस्य मुलुकका विदेश सचिवहरूको बैठक काठमाडौंमा सुरु

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनका राष्ट्र प्रमुख पाहुनाको स्वागतका लागि सिनामंगलमा बनाइएको स्वागत द्वार । तस्बिर : सिवी अधिकारी

काठमाडौं : बिम्स्टेक सदस्य मुलुकका विदेश मन्त्रालयका सचिवहरूको बैठक मंगलबार काठमाडौंमा सुरु भएको छ । चौथो शिखर सम्मेलनको तयारीका लागि सम्मेलनको पूर्वसन्ध्यामा सचिवस्तरीय बैठक सुरु भएको हो । परराष्ट्र मन्त्रालयले बिम्स्टेक राष्ट्रका विदेश सचिव काठमाडौं आइपुगेको र आज सचिवस्तरीय १९ औं बैठक हुने जानकारी दिएको छ ।

सचिवस्तरीय बैठकमा शिखर सम्मेलनका विषय, सिफारिस गर्ने विषयगत क्षेत्र र यसअघिका उपलब्धिको पुनरावलोकन तथा कार्यान्वयनको प्रगति समीक्षा सम्बन्धमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसैगरी, बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) लाई प्रभावकारी र परिणाममुखी बनाउने, सहयोगका क्षेत्रलाई प्राथमिकताका आधारमा र समूहीकृत गर्ने, संस्थागत सुधार सुदृढिकरणलगायत विषयमा समेत छलफल र परामर्श हुनेछ ।

सो बैठकपछि भदौ १३ गते सदस्य राष्ट्रका परराष्ट्र/विदेश मन्त्रिस्तरीय बैठक हुनेछ भने भदौ १४ र १५ गते राष्ट्राध्यक्ष/सरकार प्रमुखको शिखर सम्मेलन हुनेछ । वरिष्ठ अधिकारीको बैठकले सुझावसहित प्रतिवेदन मन्त्रिस्तरीय बैठकमा पेश गर्नेछ । उक्त सुझावमाथि भदौ १३ गतेको मन्त्रिस्तरीय बैठकमा छलफल हुनेछ । बिम्स्टेकमा नेपालले खासगरी सम्पर्क सञ्जाल विस्तार, बौद्ध परिपथ, हिमालय अर्थनीति, बिम्स्टेकको बडापत्र निर्माणलगायत विषयमा जोड दिने मन्त्रालयले जनाएको छ ।

बिम्स्टेक सदस्य राष्ट्रबीच सहयोग र साझेदारी प्रवद्र्धन गरी आर्थिक विकास र समृद्धि हासिल गर्ने उद्देश्यले सन् १९९७ मा यसको स्थापना भएको हो । बंगलादेश, भारत, म्यान्मार, श्रीलंका थाइल्याण्ड, नेपाल र भुटान यसका सदस्य राष्ट्र हुन् ।

बिम्स्टेकमा हाल व्यापार एवं लगानी, यातायात तथा सञ्चार, ऊर्जा, पर्यटन, प्रविधि, मत्स्यपालन, कृषि, जनस्वास्थ्य, गरीबी निवारण, प्रतिआतंकवाद र अन्तर्राष्ट्रिय अपराध प्रतिरोध, वातावरण तथा विपद् व्यवस्थापन, सदस्य देशका जनताबीच सम्बन्ध विस्तार, सांस्कृतिक सहयोग र जलवायु परिवर्तन गरी सहयोगका १४ क्षेत्र निर्धारण गरिएका छन् ।

प्रकाशित मिति: Aug 28, 2018

प्रतिक्रिया दिनुहोस्