नाबालिका शिष्यलाई गर्भवती गराउने मन्दिरका पुजारी खोरमा
पर्सा । नाबालिका बलात्कारको अभियोगमा प्रहरीले एक जना ७२ वर्षीय मन्दिरका पुजारीलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ ।
पर्साको जगरनाथपुर गाविसमा रहेको हनुमान मन्दिरमा पुजारी रहेका ७२ वर्षीय रामदेव दासलाई १४ वर्षीया नाबालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको जनाएको छ ।
आफ्नै शिष्यलाई उनले यस्तो अनैतिक क्रियाकलाप गरे पछि उनको चर्को बिरोध भएको छ । मन्दिरमा भात पकाउने काम गर्दै आएकी नाबालिकालाई विभिन्न प्रलोभनमा पारी पूजारीले बलात्कार गरेको र उनका अभिभावकले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।
पूजारी दासले बालिकालाई लामो समयदेखि गर्दै आएको यौन उत्पीडनबाट उनी गर्भवती समेत भएको स्वास्थ्य परीक्षणले देखाएको छ ।
बालिकाको स्वास्थ्य परीक्षण वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा गराइएको र परीक्षण रिपोर्ट आएपछि थप जानकारी दिन सकिने उपरीक्षक श्रेष्ठले जानकारी दिए।
अभिभावकले उजुरी दर्ता गराएपछि पुजारी दास लुक्दै आएका थिए । प्रहरीको निरन्तर प्रयास पछि जगरनाथपुरबाट उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।