भाइरल कथा : जव भयो हजुर आमा-नातिनीको फोटो भाइरल
भनिन्छ, हजार शब्दले भन्न नसकेको कथा एक तस्वीरले भन्न सक्छ । यस्तै एक तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो । यो तस्वीरलाई शेयर गरिरहेका मानिसहरुले तस्वीरसँगै लेखिएको कुरालाई पनि भाइरल गरिदिए । पोस्ट गरिएको तस्बिरसँगै लेखिएको छ, “एक स्कूलले आफ्ना विद्यार्थीहरुका लागि वृद्धाश्रमको टूर आयोजना ग¥यो । त्यहाँ यी युवतीले आफ्नी हजुरआमालाई देखिन् ।”
अगाडि लेखिएको छ, “खासमा यी बच्चीले आफ्ना आमाबुवासँग हजुरआमाबारे जिज्ञासा राख्दा उनलाई हजुरआमा नातेदारकहाँ बस्न गएको बताइएको थियो । हामी यो कस्तो खालको समाज बनारहेका छौँ ?” कल्पित भचेचले खिचेको यो तस्वीर खासमा अहिलेको होइन, ११ वर्ष पुरानो हो । बीबीसी गुजरातीले यस तस्वीरलाई विश्व फोटोग्राफी दिवसको दिन आफ्नो सामाजिक सञ्जालमा राखेको थियो । तर हेर्दा हेर्दै यो तस्वीर र योसँग लेखिएको सन्देश भाइरल भयो । आम मानिसको साथसाथै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाल र क्रिकेटर हरभजन सिंहले समेत आफ्नो फेसबुर र ट्विटरमा यसलाई सेयर गरे ।
तर के यो तस्बिर र यसमा लेखिएको क्याप्सन साँचो हो ?
यस्तो छ फोटोको यथार्थ
खासमा यो तस्वीर ११ वर्ष अघि सन् २००७ मा खिचिएको थियो । स्थान हो अहमदाबादको घाडासरस्थित वृद्धाश्रम । बीबीसी हिन्दीले यो तस्वीरमा देखिएका हजुरआमा र नातिनी भक्तिसँग अहमदाबादको सोही वृद्धाश्रमा गएर कुराकानी गर्यो । भक्तिले बीबीसी संवाददातासँगको कुराकानीमा भनिन, “मेरी हजुरआमा आफ्नो खुसीले वृद्धाश्रममा बसिरहेकी छिन् र उनलाई कसैले यहाँ पठाएको होइन । मलाई उनी बसेको स्थानबारे थाहा थिएन । उनी घर छाड्दैछिन् भन्ने त थाहा थियो तर कुन बृद्धाश्रममा बस्छिन् त्यो थाहा थिएन । ”
भक्तिले ११ वर्ष पुरानो घटना सम्झना गर्दै उनले बताइन्,“ यहाँ उनलाई देखेपछि म भावुक भएर रुन लागे । हजुरआमासँग मेरो एकदम राम्रो सम्बन्ध थियो र अहिले पनि छ । म आमाबुबाभन्दा बढी हजुरआमालाई माया गर्छु ।” सामाजिक सञ्जालमा उठाइएको सवाल हजुरआमालाई अब घर लगे भइहाल्यो भन्ने बारेमा उनी भन्छिन्, “अब घर लानुको कुनै मतलब छैन । किनकी उनलाई यहीँ राम्रो लाग्न थालिसक्यो । यहाँ उनको एक परिवारिक माहोल बनिसक्यो ।”
“उनी यहाँ खुसी छिन् र हामी हरेक दिन कुरा गर्छौं । हजुरआमा मेरो बुबाआमाको घर पनि जान्छिन् कहिलेकाहीँ । मानिसहरु मेरो अभिभावकबारेमा गलत अनुमान लगाइरहेका छन् । खासमा त्यस्तो केही होइन । त्यस्तो भएको भए त म उनीहरुसँग सम्बन्ध राख्दिनथेँ ।” “उनीसँग अचानक भेट हुनेछ भन्ने अनुमाननै थिएन” २००७ सेप्टेम्बर १२ को दिन सम्झँदै उनले भनिन् ,“म स्कूलबाट यहाँ आएकी थिएँ । ग्य्राण्डप्यारेन्टस् डे थियो त्यो दिन । मलाई उनीसँग अचानक भेट होला भन्ने अनुमान नै थिएन । उनी जाँदै थिइन् भन्ने त थाहा थियो तर जाने स्थानबारेमा थाहा थिएन । उनी आफू गएको स्थान हामीलाई थाहा नहोस् भन्ने चाहन्थिन् । त्यसैले हामी दुवै भावुक भयौँ र यही कारण रुन थाल्यौँ ।”
११ वर्ष पछि फोटो भाइरल भएबारेमा भक्तिले भनिन्, “संवेदनाहरु निक्कै राम्रो हो । तर मेरो अभिभावकबारेमा जे लेखिदै छ त्यो राम्रो होइन । कयैन आफ्नै इच्छाले वृद्धाश्रममा बस्छन् । उनीहरुलाई कसैले छाडेको हुदैन । मेरो हजुरआमा पनि त्यस्तै हुन् ।” हजुरआमा दमयन्ती बेनको पनि केही यस्तै भनाई थियो । उनले भनिन्,“ म आफ्नो इच्छाले यहाँ बसिरहेको छु । हामीबीच कुनै घृणा थिएन । म शान्तीसँग बस्न चाहन्थे त्यसैले यहाँ आएको हुँ । ”
“म घर जान्छु , घरका मान्छे यहाँ आउँछन् । मेरो छोरा दिनहु मसँग कुरा गर्छ । मेरो हालखबर सोध्छ । बुहारी पनि राम्री छिन् । खाजा लिएर आउँछिन् । सँगै बस्दा पनि यो लगाव थियो ।” यस तस्वीरका फोटोग्राफर ११ वर्षपछि आएर फोटो भाइरल हुनुमा समाजिक सञ्जाल जिम्मेवार रहेको बताउछन् । भचेचले फोटो खिच्दा दिनको बारेमा बताउदै भने, “पत्रकारितामा कस्तो कस्तो संयोग बन्छ । यो कथा यसैको बारेमा हो ।”
त्यो दिन मेरो जन्मदिनको एक दिन अघिको दिन थियो । म सबेरै ९ बजे घरबाट निस्किएँ । त्यो दिन पत्नीले राती समयमै घर फर्किनु भोलिको जन्म दिनको लागि आज राति १२ बजे केक काट्नुपर्छ भनेकी थिइन् । घरबाट निस्कदा म निक्कै खुसी थिएँ । केहीबेरमै मेरो मोबाइलमा अहमदाबादको मणिनगरस्थित जिएनसी स्कूलबाट फोन आयो।
फोन स्कुलकी प्रिन्सिपल रिटा बहन पाण्ड्याको थियो । उनले फोनमा उनले आफू स्कूलका बच्चाहरु लिएर वृद्धाश्रम जाँदै गरेकाले मैले त्यो समयको फोटो कभर गर्न सक्छु कि भनेर सोधिन् । म तयार भएँ र घोडासरको मणिलाल गान्धी वृद्धाश्रम पुगेँ । त्यहाँ एकातिर बच्चाहरु थिए भने अर्कातिर बृद्ध मानिसहरु थिए । मैले बच्चाहरुलाई बृद्धहरुसँग बस्नको लागि आग्रह गरेँ ता कि राम्रो फोटो खिच्न सकूँ ।
“इच्छाले बसिरहेको छु”
बच्चाहरु उभिनासाथ एक स्कूल बच्ची त्या रहेकी एक वृद्धातर्फ हेरेर भक्कानिएर रुन थालिन् । अघि बसेकी बृद्धा पनि उक्त बच्चीलाई देखेर रुन थालिन् । त्यसपछि ती छात्रा दौडिँदै गएर बृद्धालाई अँगालोमा कस्सिइन् । यो देखेर त्यहाँ उपस्थित सबैजना अचम्मित भए । मैले त्यही क्षण यो दृश्यलाई क्यामेरामा कैद गरेँ र फेरि महिलासामु पुगेर सोध्दा उनले आफूहरु हजुरआमा नातिनी भएको बताइन् ।
बच्चीले पनि रुदैँ बृद्धा आफ्नो ‘बा’ भएको बताइन् । गुजरातीमा हजुरआमालाई बा भनिन्छ । बच्चीले पनि हजुरआमा बिना आफ्नो जिन्दगी शुन्य लाग्ने बताइन् । उनले आफ्नो बुवाले हजुरआमा नातेदार कहाँ बस्न गएको बताएको पनि बताइन् । तर, बृद्धाश्रम पुगिन् तब उनलाई थाहा भयो हजुरआमा कहाँ गएकी रहिछन् ।
हजुरआमा र नातिनीको यो मिलन देखेपछि त्यहाँसँगै उभिएका अरु मासिनहरुको आँखा पनि रसाएका थिए । त्यो माहोललाई सामान्य बनाउन केही बच्चाहरुले भजन गाउन सुरु गरे । यो तस्बिर पहिलो दिन दिव्य भाष्कर पत्रिकाको पहिलो पृष्ठमा छापिएको थियो । त्यो समय सम्पूर्ण गुजरातमा यही तस्बिरबारे निकै चर्चा सुरु भएको थियो । यो तस्बिरले धेरैलाई तरंगित बनाइदियो ।
मेरो ३० वर्षको फोटग्राफरको करिअरमा पहिलो पटक तस्बिर छापिएको पहिलो दिन एक हजारभन्दा बढी मानिसहरुले मलाई फोन गरेका थिए । त्यो समय पूरै राज्यमा यो तस्बिरको विषयलाई लिएर चर्चा भइरहेको थियो। तर जब दोस्रो दिन म अर्को मिडियाकर्मीको साथमा ती बृद्धाको अन्तर्वार्ताका लागि त्यहाँ पुगेँ उनले आफू आफ्नै इच्छाले वृद्धाश्रम आएकी र आफ्नै इच्छाले त्यहाँ बसिरहेको बताइन् ।