१३ वर्षीया बालिका निर्मला हत्याकाण्डमा प्रहरीको भूमिका शंकास्पद
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानमा प्रहरीको भूमिकाप्रति थप शंका उब्जन थालेका छन्। प्रहरीले घटनाको अनुसन्धानमा सुरुदेखि नै जेल परेर छुटेका व्यक्तिलाई खोजी गरेको र अन्त्यमा दिलिपसिंह बिष्टलाई फेला पारेको दाबी पीडित परिवारले गरेपछि प्रहरीको भूमिकाप्रति थप शंका उब्जिएको हो ।
प्रहरीले ९ वर्ष जेल बसेर छुटेका दिलिपसिंह बिष्टले निर्मलाको बलात्कारपछि हत्या गरेको दाबी गर्दै उनलाई हत्याराका रुपमा सार्वजनिक गरेपनि पीडित पन्त परिवारले भने बिष्टलाइ प्रहरीले नक्कली अभियुक्त बनाएर वास्तविक हत्यारालाई उम्काउन खाजेको आरोप लगाइरहेका छन्। मृतक निर्मला पन्तका बुबा यज्ञराज पन्तले प्रहरीले निर्मलाको दाहसंस्कार गरेकै दोस्रो दिन प्रहरी आफ्नो घरमा आएको र ‘यहाँ १० वर्ष जेल परेर छुटेको व्यक्ति को हो ?’ भनेर सोधेको बताए। उनले घटनाको अनुसन्धानमा प्रहरीले देखाएको भूमिका सुरुदेखि नै शंकास्पद रहेको बताए। उनले प्रहरीले आफूलाई दिलिपसिंह बिष्टका नाममा किटानी जाहेरी दिन दबाब दिइरहेको बताए।
उनले भने, ‘प्रहरीले त्यसरी किन सोधेका होला भनेको त नक्कली अपराधी तयार पार्न पो रहेछ, ९ वर्ष जेल बसेर छुटेको दिलिपलाई हत्याराका रुपमा सार्वजनिक गरेपछि मात्रै मलाई थाहा भयो कि, प्रहरीले वास्तविक दोषीलाई छुटाउन नक्कली अपराधी खोजिरहेको छ।’ निर्मलाको अन्तिम संस्कार गरेको दोस्रो दिन सादा पोशाकमा आएका प्रहरीले ‘यहाँ वरपर १० वर्ष जेल परेर छुटेको कुलदिप भण्डारी नाम गरेको व्यक्तिको घर कता हो ?’ भनेर सोधेको पन्तले बताए।
उनले अगाडि भने, ‘तर पनि मैले किटानी दिइन। अनी प्रहरीले मलाई दिलिपले आफूले हत्या गरेको स्वीकार गरेको छ, हामी उसँग लिएको बयानको भिडियो देखाउँछौ भने तर अहिलेसम्म भिडियो देखाएका छैनन्,’ पन्तले भने, ‘प्रहरीले किन सुरुमा भिडियो देखाउछौँ भनेर झुटो बोल्यो ? हामीले के का आधारमा दिलिपका नाममा किटानी जाहेरी दिने ? म मेरो घाँटी छिनाल्छु भनेपनि प्रमाण बिना कसैका नाममा जाहेरी दिँदैन।’
पन्तले प्रहरीले घटनास्थलमा नक्कली मुचुल्का बनाएको आरोप लगाए। ‘घटनाको १५/२० दिनपछि घटनास्थलमा अपराधीको लुगाको खल्ती भेटिएको मुचुल्का प्रहरीले तयार पारेको छ तर यतिका दिनसम्म पानी परे पनि उक्त खल्तीको कपडामा माटो समेत लागेको छैन, अस्थायी साधन कण्डमको खोल भेटिएको भनेको छ तर त्यसमा पनि धुलो माटो लागेको छैन सफा छ,’ पन्तले भने, ‘यहाँ कुनै हत्यारालाई जोगाउन प्रहरीले ठूलो शक्ति प्रयोग गरिरहेको छ, हजुर मलाई न्याय चाहियो।’ लुुगाको खल्ती भेटिएको भनिएको ठाउँमा प्रहरीले आफूलाई पनि सँगै लगेको पन्तले बताए।