पानीको बहावसंगै महाकालीको बाढीले तटबन्ध भत्कायो,सयौं घर डुबानमा
महाकाली नदीमा पानीको बहाव बढ्दै गएपछि माहाकाली नगरपालिका–१ बयलबन्द क्षेत्रमा निर्माण गरिएको तटबन्ध भत्किन थालेको छ । आइतबार रातिदेखि त्यस क्षेत्रमा निर्माण गरिएको तटबन्ध भत्काउन सुरु गरेको महाकाली नगरपालिकाको १ नं. वडा कार्यालयले जनाएको छ ।नदीमा पानीको बहाव बढेपछि तारजाली बगाएर तटबन्ध भत्काउन थालेको हो ।
महाकाली नगरपालिका–१ का वडा अध्यक्ष अर्जुनदत्त भट्टले आइतबार रातिदेखि बयलबन्द क्षेत्रमा निर्माण गरिएको तटबन्धमा क्षति पुग्न थालेको बताए । उनले तटबन्ध भत्किए माहाकाली नगरपालिकाको १ र ३ नम्बर वडा नै खतरामा पर्ने बताए । तटबन्ध भत्किए महाकालीको भंगालो नै गाउँ पसेर ठूलो क्षति गर्न सक्ने डरले स्थानीय त्रसित छन् ।
दार्चुलास्थित धौलिगंगाको बाँध खोलेकाले कञ्चनपुरमासमेत महाकालीमा पानीको बहाव धेरै हुने देखिएको छ । पहाडको पानी यहाँसम्म आइपुग्न समय लाग्ने हुँदा अहिलेसम्म पानीको बहाव बढिसकेको छैन ।
जापानी सहयोग नियोग (जाइका) ले २ दशकअघि निर्माण गरेको तटबन्ध जीर्ण भएपछि २०७० सालमा आएको बाढीले बयलबन्द क्षेत्रमै तटबन्ध भत्काएर नदीको भंगालो नै गाउँ पसेर ठूलो क्षति गरेको थियो ।
त्यसपछि सोही क्षेत्रमा जनताकोे तटबन्ध कार्यक्रमले गत आर्थिक वर्षमा तटबन्धको पुनःनिर्माण गरेको थियो । तर तटबन्ध भरपर्दो र मजबुत नबनाइँदा तारजाली बगाएर भत्काउन शुरु गरेको स्थानीयले बताएका छन् ।
तारजाली बगाएर भत्काउन थालेको ठाउँमा तारजाली भर्ने काम थालिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगरपालिका र स्थानीय तारजाली भर्ने काममा जुटेका छन् । इलाका प्रहरी कार्यालय दोधाराका प्रहरी निरीक्षक नरेन्द्र चन्दले तटबन्ध भत्काउन थालेको ठाउँमा रोकथामको काम भइरहेको बताए ।
अबिरल वर्षापछि नदी तथा खोलानालाहरुमा पानीको बहाव बढ्दा माहाकाली नगरपालिकाकै वडा नं. ८ र १० क्षेत्रका विभिन्न टोलडुबानमा परेका छन् । ती टोलका करिब एकसय घर डुबानमा परेको महाकाली नगरपालिकाले जनाएको छ ।
२०७५ साउन २८ गते १९ : ०७ मा प्रकाशित