आर्थिक वर्षमा ट्राफिक कारवाहीबाट ५१ लाख राजश्व सङ्कलन
बागलुङ : जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०७४/७५ मा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनका चालकलाई कारवाही गरी रु ५१ लाख ४२ हजार राजश्व सङ्कलन गरेको छ ।
ट्राफिक नियम विपरीत सवारीसाधन चलाएका सात हजार ८२४ चालकलाई कारवाही गरिएको थियो । यस क्रममा ६१५ ट्रक चालक, ६४१ बस चालक, तीन हजार २८९ कार/जीप चालक, दुई हजार १६१ मोटरसाइकल/स्कुटर चालक, एक हजार ९८ ट्र्याक्टर चालक तथा अन्य सवारी साधनका २० चालक कारवाहीमा परेका हुन् । सवारी दर्ता, नामसरी, सवारी चालक अनुमतिपत्र नभएका तथा अनुमतिपत्र नविकरण नगर्ने चालकलाई कारवाही गरिएको ट्राफिक प्रहरी प्रमुख छबबहादुर घर्तीले जानकारी दिए ।
ट्राफिक नियम पालनमा कडाइ गर्न थालेपछि राजश्व बढ्दै गएको घर्तीले बताउनुभयो । आव २०७३/७४ मा सवारीसाधनका चालकलाई कारवाही गरी रु ५१ लाख १० हजार राजश्व सङ्कलन गरिएको थियो । “सवारी नियम उल्लङ्घन गर्ने चालकलाई अझै कडाइ गर्छौं,” उनले भने।