बिहानैदेखि देशभर वर्षा : भक्तपुर ललितपुरमा बाढीको जोखिम
काठमाडौँ : राजधानी उपत्यकासहित देशका अधिकांश स्थानमा सोमबार बिहानैदेखि पानी परेको छ । दिनभर देशभरको मौसम सामान्यदेखि पूर्ण बदलीको अवस्थामा रहने र धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमा महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखा नेपाल नजिकै रहेकाले मनसुनी गतिविधि सक्रिय रहेकाले दिनभरजसो देशभरको मौसम बदली र पानी पर्ने हुने मौसकविद मञ्जु बासीले जानकारी दिइन् ।
दिउँसो धेरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्नेछ । यस्तै पूर्व, मध्य र पश्चिमका केही ठाउँमा दिउँसो ठूलो पानी पर्ने सम्भावना रहेकाले सचेत हुनु पर्ने मौसमविद बासीले बताइन् । यस्तै राति मध्य र पश्चिमी क्षेत्रका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । उपत्यकाको अधिकांश क्षेत्रमा बिहानैदेखि पानी परिरहेको छ । केही घण्टामा पानी पर्न रोकिने तर फेरि केही समयपछि पानी पर्ने सम्भावना रहेको मौसमविद बासीले बताइन् ।
केही हप्ताअघि बाढी गएको भक्तपुर क्षेत्रका खोलमा पानीको सतह केही बढेको छ । सोमबार दिनभरजसो पानी पर्ने भएकाले बाढी आउने खतरा रहेको मौसमविदले बताए । यसले गर्दा बाढीको जोखिम रहेका भक्तपुरको नदी आसपासका बासिन्दा तथा अरु ठाउँका जोखिम युक्त बस्तीका बासिन्दा पनि सचेत हुनु पर्ने मौसमविदले बताएका छन् ।
लगातारको वर्षाका कारण काठमाडौँ, ललितपुर र भक्तपुरका सबैजसो खोलामा पानीको बहाव उच्च रहेकाले सचेत रहन बाढी पूर्वानुमा महाशाखाले आग्रह गरेको छ । वर्षायामसँगै देशका विभिन्न ठाउँमा बाढी तथा पहिरोको जोखिम बढेको तथा कतिपय स्थानमा मानवीय क्षति पनि भएको छ ।
गृह मन्त्रालय अन्तर्गतको विपद व्यवस्थान महाशाखाले सकेसम्म क्षति हुन नदिने र भए पनि कम गराउनका लागि आफूहरु तत्पर रहेको बताएको छ । महाशाखाका प्रमुख केदार न्यौपानेले आफूहरु पूर्व तयारीका साथ रहेको र राहत तथा उद्धारको कामलाई प्रभावकारी बनाउनका लागि प्रतिबद्ध रहेको बताए ।