पेट्रोलियम पदार्थमा कालोबजारी बढ्यो
बैतडी : जिल्लामा पेट्रोलमा कालोबजारी बढेको छ ।
जिल्लाको सतबाँझस्थित एक मात्र ‘भण्डारी आयल स्टोर’ले दुई वर्षदेखि पेट्रोल ढुवानी नगरेका कारण कलोबजारी बढेको हो । उपभोक्ता पेट्रोलको चर्को मूल्य तिर्न बाध्य छन् ।
प्रतिलिटर रु १०४ पर्ने पेट्रोल जिल्लाका उपभोक्ताले रु १३५ देखि रु १५० सम्ममा खरिद गर्दैआएका छन् । “चर्को मूल्य तिरेर पेट्रोल किन्न बाध्य छौँ,” जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य सहायक सन्तोष पाण्डेयले भने । सीमावर्ती भारतीय बजार झुलाघाट तथा छिमेकी जिल्ला डडेल्धुराबाट पेट्रोल खरिद गर्नुपरिरहेको उनले बताए । अभाव हुँदा उपभोक्ता महँगो र मिसावट गरिएको पेट्रोल किन्न बाध्य छन् ।
दुई वर्षयता उपभोक्ताले चर्को मूल्यमा पेट्रोल किन्नु परिरहेको दशरथचन्द नगरपालिका–१ का अमरबहादुर टेर बताउनुहुन्छ । उनले भने, “सधैँ महँगोमा पेट्रोल किन्न बाध्य छौँ, सम्बन्धित निकाय मौन छ ।” सतबाँझ तथा गोठलापानी बजारका विभिन्न पसलबाट पेट्रोलको कालोबजारी भइरहेको छ ।
घाटा भएपछि पेट्रोल ढुवानी गर्न बन्द गरेको भण्डारी आयल स्टोरका सञ्चालक लालबहादुर भण्डारीले बताए।
पेट्रोलमा भइरहेको कालोबजारीका बारेमा सम्बन्धित पक्षसँग छलफल गरिने प्रमुख जिल्ला अधिकारी चन्द्रप्रकाश गैरेले बताए ।
यसैबीच पेट्रोलमा भइरहेको कालोबजारीविरुद्ध आज सतबाँझदेखि गोठलापानीसम्म मोटरसाइकल ¥याली निकालिएको छ ।