जोशीले राजिनामा दिनेबारे छलफल गर्दै, प्रधानमन्त्रीले नयाँ प्रधानन्यायाधीशको खोजी गर्दै
काठमाडौं, १९ साउन : प्रधानन्यायाधीशमा आफ्नो नाम अस्विकृत भएपछि कायममुकायम प्रधानन्यायाधीश दिपकराज जोशीले राजिनामा दिने वा नदिने भन्नेबारे बनाएको खबरहरु बाहिर आएका छन् । जोशी कामु प्रधानन्यायाधीशबाट राजिनामा दिनेबारे छलफलमा जुटेको बेला प्रधानमन्त्री केपी शर्मा ओली भने नयाँ प्रधानन्यायाधीश कसलाई बनाउने भन्नेबारे खोजीमा छन् ।
संवैधानिक परिषदको बैठक सम्भवत् : यो हप्ता राख्ने प्रधानमन्त्री ओलीको चाहना छ । रोलक्रममा ओमप्रकाश मिश्र र चोलेन्द शमशेर राणा रहेका छन् । स्रोतका अनुसार जोशी आजदेखि नै अब राजिनामा दिने वा सम्भावित परिस्थितिलाई सामना गर्ने भन्नेबारे छलफल सुरु गरेका छन् ।
हिजो (शुक्रबार) संसदीय सुनुवाई विशेष समितिले दुई तिहाईको बहुमतले जोशीको नाम प्रधानन्यायाधीशबाट अस्वीकृत गरेको थियो। एक अन्तरवार्तामा जोशीले भनेका छन्,‘ममाथि जे आरोप लगाइएको छ, त्यसबारे उहाँहरुले मलाई प्रश्न नै गर्नुभएन । त्यसैले यसबारेमा म धेरै बोल्दिन ।’
तर तपाईलाई प्रधानन्यायाधीशका लागि अयोग्य भनियो नि ? भनेर सोधेको अर्को प्रश्नमा उनले भनेका छन्,‘मलाई अयोग्य भनेर उहाँहरुले निर्णय गरिसक्नुभयो । अब म के भनम र ? मलाई दुःख लागेको छैन । संसदबाट भएको कामलाई मान्नैपर्यो ।’