Logo
४ मंसिर २०८१, मंगलबार
(August 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिद्युत सम्बन्धि समस्या ऊर्जामन्त्रीले हटलाइनबाट सिधैं सुन्ने

काठमाडौं : मन्त्रीको डेस्कमा राखिएका ३ ओटा टेलिफोन छिनै नबिराई बजिरहे । फोन उठाउँदै समस्या सोध्ने र होल्डमा राख्ने कामका लागि दुईजना कर्मचारी खटिएका थिए । मन्त्रीले गुनासो सुन्दै गरेको तेस्रो फोन राख्न नपाउँदै होल्डमा राखिएकामध्ये एउटा फोन मन्त्रीको हातमा पुगिहाल्थ्यो ।

‘हेल्लो । कहाँबाट को बोल्नु भएको होला ? तपाईँको मोबाइल नम्बर कति हो ? अनि गुनासो के छ ?’

रेडियो प्रस्तोताले फोन इन कार्यक्रममा टेलिफोनकर्तालाई प्रश्न गरे झैं मन्त्री सोध्थे । फोनकर्तामा देशभित्रका मेचीदेखि महाकालीसम्मका मात्र उपभोक्ता नभई हाल वैदेशिक रोजगारीका लागि दुबईमा रहेका युवासम्म थिए । १ घण्टा कुराकानीका लागि खुला गरिएको हटलाइनमा मन्त्री पुनले कुल १९ ओटा टेलिफोनको गुनासो सुने । अधिकाङ्शका गुनासो विद्युत् वितरण प्रणालीको गुणस्तरसँग सम्बन्धित थिए । गोरखा पालुङ्टारका केशव न्यौपानेले काठको पोलले समस्या भएको, बिजुलीको भोल्टेज कम भएको, नजिकै ट्रान्सफर्मर राखिदिनु पर्‍यो भने ।

त्यस्तै, नमोबुद्ध, काभ्रेपलाञ्चोकका शिवबहादुर बस्नेतले खानेपानीका लागि ट्रान्सफर्मर आवश्यक रहेको बताए । विरगञ्जका विन नारायण महतोले राम्रो भोल्टेज नआउने, बिजुली पनि गइरहने र प्राधिकरणको स्थानीय वितरण केन्द्रमा फोन गर्दा फोन नउठाउने, उठाए पनि कुरा नगर्ने समस्या रहेको गुनासो पोखे ।

फोनकर्ताहरूलाई जवाफ दिँदै मन्त्री पुनले आफूहरू काठको पोल विस्थापनको क्रममा रहेकाले अब लामो समय समस्या नहुने बताए ।

त्यसैगरी, केही समयअघिसम्म प्राधिकरणमा ट्रान्सफर्मरको अभाव रहेको भएपनि अहिले पर्याप्त मात्रामा उपलब्ध रहेकाले आफ्नो स्थानीय वितरण केन्द्रमा सम्पर्क राखी ट्रान्सफर्मर जडान गरिमाग्न आग्रह गरे । त्यसैगरी तत्काल मन्त्री पुनले सम्बन्धित क्षेत्रका वितरण केन्द्र प्रमुखलाई फोन गरी आएको गुनासो बताई तत्काल समस्या समाधान गर्न निर्देशन दिनुका साथै गुनासोकर्ताको फोन नम्बरसमेत टिपाए ।

मन्त्रालयमा विगत करीब डेढ वर्षदेखि २४ घण्टा खुला रहेको उक्त हटलाइन सेवा मार्फत आएका गुनासो विभिन्न बैठकहरूमा राखी सम्बोधन गर्ने प्रयास यसअघि पनि भइरहेको मन्त्री पुनले जानकारी दिए । तर मन्त्री नै प्रत्यक्ष कुराकानीमा बस्दा के कस्ता गुनासा आउँदा रहेछन् परीक्षणका लागि नयाँ थालनी गरिएको उनले बताए । प्रभावकारीता हेरी प्रत्यक्ष कुराकानीको निरन्तरता वा परिमार्जन हुन सक्ने मन्त्री पुनको भनाइ छ ।

प्रकाशित मिति: Aug 3, 2018

प्रतिक्रिया दिनुहोस्