Logo
४ मंसिर २०८१, मंगलबार
(August 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विकास र समृद्धिका लागि डिजिटल नेपाल अपरिहार्य छ : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक संक्रमणकाल पूरा गरी मुलुक आर्थिक रुपान्तरणको चरणमा प्रवेश गरेकाले विश्व दुनियाँमा प्रतिस्पर्धी बन्न सूचना प्रविधिको सदुपयोग अपरिहार्य भएको बताएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र फ्रोष्ट एण्ड सुलिभानद्वारा आयोजित “डिजिटल नेपाल कन्फरेन्स” को बुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गतिशील दुनियाँमा हामी कुद्न सकेनौँ भने हामीलाई कसैले पर्खेर नबस्ने उल्लेख गर्दै सरकार सुशासनमार्फत देशलाई विकसित र समृद्ध बनाउन सूचना प्रविधिको प्रयोग बढाउने प्रक्रियामा रहेको बताए ।

सरकारले विद्युतीय भुक्तानी शुरु गरिसकेको र शिक्षा क्षेत्रमा डिजिटलको प्रयोग अस्वीकार गर्न नसकिने भइसकेको जनाउँदै उनले मुलुकको उत्पादन र उत्पादकत्व बढाउन नागरिकको क्षमता वृद्धिका लागि सम्मेलनले उपयोगी निष्कर्ष निकाल्ने बताए । उनले भने, ‘सन् २०३० भित्र सहस्राब्दी विकास लक्ष्यमार्फत समाजको सम्पूर्ण विकासका लागि नेपाल सरकार तत्पर छ । यो हाम्रो कर्तव्यमात्र होइन आवश्यकता पनि हो । त्यसैले यसका लागि डिजिटल नेपालको अवधारणा कार्यान्वयन हुनु अपरिहार्य छ ।’

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधिले सहज सेवा प्रवाह, आर्थिक वृद्धि र रोजगारी सिर्जनालगायत क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले छिमेकी भारत र चीनले सूचना प्रगतिमा गरेको प्रगतिलाई आत्मसात् गरी कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन आदिका क्षेत्रमा यसको प्रयोगको व्यापकता गरिने बताए । उनले नागरिकको जीवन सहज बनाउन तथा सूचना एवं ज्ञान बाँड्न सम्मेलनबाट प्राप्त सुझावबाट सरकारको समृद्ध नेपाल र सुखी नेपालीको सपना पूरा गर्न योगदान मिल्ने बताए ।

मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सरकारले राष्ट्रिय परिचयपत्र बनाइ एकै परिचय पत्रबाट सबै सेवाका लागि प्रयोग गराउने नीति लिएकामा त्यसका लागि डिजिटल नेपाल लागू हुनु अत्यावश्यक भएको बताए । फ्रोष्ट एण्ड सुलिभानका अन्तर्राष्ट्रिय अध्यक्ष अरुप जुट्थीले ‘डिजिटल नेपाल समृद्ध नेपाल र सुखी नेपालीका लागि सामाजिक र आर्थिक कार्यढाँचा’ बारे कार्यपत्र प्रस्तुत गर्दै डिजिटल क्रान्तिले आर्थिक रुपान्तरणलाई तीव्र बनाउँदै नेपाललाई विकसित बनाउने बताए उनले परम्परागत उद्योग र रोजगारीलाई डिजिटल प्रविधिको प्रयोगबाट सिर्जनशील सहज बनाउन सकिने जनाए ।

कार्यक्रममा सूचना प्रविधिमार्फत् एकद्वारबाट सेवाग्राहीलाई सुविधा दिन निजामती किताबखाना र कर्मचारी सञ्चय कोषका प्रमुखबीच सहमतिपत्र आदानप्रदान गरियो ।

प्रकाशित मिति: Aug 3, 2018

प्रतिक्रिया दिनुहोस्