बिराटनगरस्थित भारतीय ‘क्याम्प’ आजदेखि बन्द
बिराटनगर : बिराटनगरमा एक दशकदेखि सञ्चालन भइरहेको भारतीय ‘क्याम्प अफिस’ बुधबारदेखि बन्द भएको छ । नेपाल सरकारको अनुरोध अनुसार भारत सरकारले उक्त क्याम्प बन्द गरेको हो । भारतले १० वर्षअघि नेपाल सरकारको अनुमतिविनै सो कार्यालय स्थापना गरेको थियो ।
नेपाल स्थित भारतीय दुतावासले प्रेस विज्ञप्ति जारी गरेर अगस्ट १ (साउन १६)देखि बिराटनगरको क्याम्प अफिसले गर्दै आएका सबै काम काठमाडौंस्थित दूताबासबाटै हुने जानकारी दिएको थियो ।
उक्त कार्यालयबाट अवकासप्राप्त गोरखा सैनिकहरुलाई पेन्सन दिने, नवीकरण गर्ने, सवारी परमिट दिने, भारत पढ्न जाने विद्यार्थीका लागि अनुमति दिनेदेखि धार्मिक पर्यटकको लागि परमिट दिनेसम्मको काम हुँदै आएको थियो । अब ती सबै काम काठमाडौंबाटै हुने दूताबासले बताएको छ ।