जोशीको नाममा के होला निर्णय ? संसदीय सुनुवाई समितिको पाँचौ बैठक आज
काठमाडौं : प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा घटनाक्रमले संसदीय सुनुवाइ विशेष समितिमा सत्ताघटक दलनिकट सदस्यहरूको मत जोशीको विपक्षमा जाने अवस्था देखाएको छ।
बुधबार साढे ३ बजे समितिको बैठक डाकिए पनि मंगलबार बेलुकासम्म परिस्थितिमा कुनै सुधारको संकेत देखा परेको छैन। समितिमा सत्तापक्षीय नौ सभासद् सदस्य छन्। यसमा सरकारलाई समर्थन गरेको राजपाका नेता एवं समिति संयोजक लक्ष्मणलाल कर्णसमेत छन्।
समितिमा कांग्रेसका चार सभासद् छन्। सत्ताघटक निकट सदस्यको दुईतिहाइ पुग्ने सम्भावना देखिएकाले जोशीका लागि स्थिति प्रतिकूल देखिएको हो। कांग्रेसनिकट सदस्यको समर्थनले मात्र अनुमोदन हुने अवस्था छैन।
समितिनिकट एक सदस्यले समिति संयोजक कर्ण तटस्थको भूमिकामा रहे पनि जोशीपछि मधेसी समुदायका वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्र प्रधानन्यायाधीश बन्ने सम्भावना रहेकाले उनको मतसमेत अनुमोदनको विपक्षमा जान सक्ने अवस्था छ।
‘अनुमोदनका लागि नेकपाले आन्तरिक रूपमा ह्विप नै लगाएछ भने बेग्लै हो, नत्र अहिलेसम्मको परिस्थिति जोशीको प्रतिकूलमा छ,’ ती सदस्यले भने, ‘संसदीय सर्वोच्चता भएकाले पार्टीको ह्विप मान्नुपर्छ भन्ने पनि छैन। नत्र एक साता रोकेर राख्नुपर्ने आवश्यकता नै थिएन।’
समितिका ती सदस्यका अनुसार रातारात परिस्थितिले कोल्टे फेरेन भने जोशीका लागि प्रधानन्यायाधीश बन्न अप्ठ्यारो अवस्था छ।